Jun 16 2026 | २०८३, असार २ गते
कञ्चनपुर । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरका तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धान (आरआइटी)बाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१८ बाट एक र बेदकोट नगरपालिका–९ बाट दुई जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।
बैतडी दशरथ नगरपालिका–४ घर भई हाल भीमदत्त नगरपालिका– १८ का २५ वर्षीय नरेश दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए पक्राउ परेका दमाईको साथबाट १४ ग्राम ४२० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
यसैगरी बेदकोट नगरपालिका–९ का ३० वर्षीय भीमबहादुर विष्ट र २७ वर्षीय हिक्मत विष्टलाई लालपुरबाट तीन ग्राम २४० मिलीग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैबीच लागुऔषध फेरागन मुद्दाका फरार प्रतिवादी भीमदत्त नगरपालिका–३ का ४२ वर्षीय जयबहादुर धानुकलाई समेत प्रहरीले मङ्गलबारै पक्राउ गरेको छ । तीन वर्षअघिदेखि फरार रहेका धानुकलाई कञ्चनपुर जिल्ला अदालतले दुई महिना कैद र ८२ हजार जरिवाना सजाय तोकेको थियो । अदालतले जरिवान र सजाय तोकेपछि धानुक फरार रहँदै आएका थिए । घरमै लुकीछिपी बसेको बेला प्रहरीले पक्राउ गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij