Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्वु ओलीले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की र घृणायुक्त अभिव्यक्ति विरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेकी छन्।
उनले संसदमा उठाएका जनचासोका विषयको प्रतिक्रिया स्वरूप आफूविरूद्ध सामाजिक सञ्जालमा संगठित रूपमा आक्रमण भएको बताएकी छन्।
उजुरीपछि साइबर ब्युरोले एक जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको पनि उनले जानकारी दिएकी छन्।
सामाजिक सञ्जालमा आफूविरूद्ध फैलाइएका धम्की, हिंसात्मक अभिव्यक्ति र दुर्व्यवहारप्रति शून्य सहनशीलता अपनाउने चेतावनी दिएकी छन्।
सोमबार खुश्वुले सामाजिक सञ्जाल लेख्दै भनेकी छन्, 'विगत केही सातादेखि मैले संसदमा उठाएका जनचासोका विषयहरूको प्रतिक्रिया स्वरूप सामाजिक सञ्जालमा संगठित रूपमा आक्रमण, गालीगलौज, चरित्रहत्या र घृणायुक्त अभिव्यक्तिहरू निरन्तर आइरहे। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको संख्या सयौंबाट हजारौंमा पुग्यो।
मेरो व्यक्तिगत मोबाइल फोनदेखि लिएर म्यासेन्जरसम्ममा बलात्कार, ज्यान मार्ने धम्की र भौतिक आक्रमणका अभिव्यक्तिसम्म आए। आज मैले यस सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरेको छु। आज नै एक जना व्यक्ति पक्राउ परिसकेका छन् र कानुनी प्रक्रियाको सामना गर्दैछन्।
मेरो विचार, धारणा वा राजनीतिक भूमिकालाई लिएर आम नागरिकहरूले कठोरभन्दा कठोर आलोचना गर्न सक्नुहुन्छ। लोकतन्त्रमा असहमति स्वाभाविक हो। तर धम्की, घृणायुक्त अभिव्यक्ति, गालीगलौज, चरित्रहत्या, हिंसाको उक्साहट र सामाजिक सञ्जालमार्फत गरिने दुर्व्यवहार कुनै पनि हालतमा म स्वीकार गर्न सक्दिनँ।
टिकटक, युट्युब, फेसबुक लगायतका प्लेटफर्ममा मेरो बारेमा सामग्री अपलोड गर्ने, कमेन्ट गर्ने, शेयर गर्ने, घृणा फैलाउने सबैलाई म स्पष्ट रूपमा सचेत गराउन चाहन्छु। अझै पनि त्यस्ता सामग्रीहरू हटाउने समय तपाईँहरूसँग छ। अन्यथा, आजदेखि नै कानुनी प्रक्रियाको सामना गर्न तयार रहनुहोस्। सामाजिक सञ्जालमा हुने दुर्व्यवहार, धम्की र घृणायुक्त अभिव्यक्तिप्रति मेरो शून्य सहनशीलता रहनेछ।
आज सामाजिक सञ्जालमा घृणायुक्त अभिव्यक्ति, गालीगलौज, धम्की र चरित्रहत्यालाई चुपचाप सहेर बस्न बाध्य भएका हजारौं नागरिक-महिला र पुरूष दुवै छन्। जब यस्ता व्यवहारहरूलाई सहिन्छ, त्यस्ता कार्य गर्नेहरू अझ प्रोत्साहित हुन्छन् र उनीहरूको अराजकता झनै फैलिन्छ।
हामीले सामाजिक सञ्जालमा घृणायुक्त अराजकतालाई सामान्यीकरण गर्नु हुँदैन। अभिव्यक्ति स्वतन्त्रताको नाममा घृणा, हिंसाको उक्साहट र दुर्व्यवहार स्वीकार गर्न सकिँदैन। आज गरिएको एउटा कानुनी र जिम्मेवारपूर्ण कदम सानो देखिन सक्ला, तर यसले भोलिको समाजलाई केही बढी सभ्य, सुरक्षित र उत्तरदायी बनाउन योगदान पुर्याउन सक्छ।
सामाजिक सञ्जालमा फैलिरहेको घृणायुक्त अराजकता र घृणाको संस्कृतिप्रति शून्य सहनशीलताको सन्देश दिनु हामी सबैको सामाजिक र नैतिक जिम्मेवारी पनि हो। यस संवेदनशील विषयप्रति गम्भीर चासो व्यक्त गर्दै आवश्यक पहल गर्नुभएकोमा माननीय गृहमन्त्रीज्यू तथा नेपाल प्रहरीको साइबर ब्युरोप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।'
गत बुधबार प्रतिनिधिसभा बैठक चलिरहँदा गृहमन्त्री सुधन गुरूङले खुश्वु बसेको प्रतिपक्षी बेन्चमै गएर उनीसँग यसबारे कुराकानी गरेका थिए। खुश्वुका अनुसार सुधनले धम्की दिनेहरूलाई कारबाही गर्ने भनेका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij