Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । नेकपा प्रमुख सचेतक युवराज दुलालले सरकारले विनियोजन विधेयक प्रस्तुत गरेलगत्तै मन्त्रालयगत विस्तृत कार्यक्रम र बजेट विवरण सार्वजनिक नगरेको भन्दै प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभामा बोल्दै दुलालले अर्थमन्त्रीले विनियोजन विधेयक पेश गरेपछि मन्त्रालयगत कार्यक्रम तथा बजेटका विस्तृत विवरणहरू डिजिटल माध्यमबाट तत्काल उपलब्ध गराइने अपेक्षा गरेको बताए।
युवा मन्त्रीहरूको नेतृत्व रहेको सरकारबाट सुशासन र पारदर्शिताको अभ्यास हुने विश्वास आफूले गरेको बताए । बजेट भाषणअघि नै बजेट विनियोजनको सम्पूर्ण प्रक्रिया सम्पन्न हुने भएकाले सबै विवरण डिजिटल रूपमा तयार रहने भएपनि सार्वजनिक गर्न ढिलाइ गरिएको प्रति प्रश्न उठाए ।
विनियोजन विधेयक सदनमा पेश भएसँगै मन्त्रालय तथा निकायगत कार्यक्रम पुस्तिका सांसदहरूलाई उपलब्ध गराइनुपर्ने बताए। तर कतिपय मन्त्रालयले हालसम्म पनि कार्यक्रम पुस्तिका नदिएको भन्दै उनले असन्तुष्टि जनाए ।
उनले भने, ‘किन १८ दिन लाग्छ ? किन आजसम्म किताब आउँदैन रु विस्तृत अध्ययनबिनै संशोधन प्रस्ताव र धारणा राख्नुपर्ने अवस्था सिर्जना भएको छ। भोलि छलफल हुने केही मन्त्रालयको बजेट विनियोजन सम्बन्धी पुस्तकसमेत अझै उपलब्ध भएको छैन । कार्यक्रम पुस्तिका नपाइकनै खर्च कटौती प्रस्ताव दर्ता गर्न बाध्य भएका छौँ ।’
विनियोजन विधेयक पेश भइसकेपछि पनि मन्त्रालयहरूमा बजेट थपघट भइरहेको भन्ने चर्चा सुनेको भन्दै उनले भने, ‘विनियोजन विधेयक पेश पछि पनि मन्त्रालयमा बजेट थप्ने, घटाउने काम भइरहेका भन्ने गाइँगुइँ सुनिएको छ । त्यो हल्ला झूटो होस्। विनियोजन विधेयक पेश भएपछि करका दर फेरे जस्तै, अरूले पनि फेरेका थिए भन्ने अर्थमन्त्रीको जवाफ जस्तै पक्कै पनि विज्ञ मन्त्री मित्रहरूले जवाफ दिनु नपरोस् । यदि त्यस्तो पर्छ भने विनियोजन विधेयक पेश गरेपछि बजेट बाँडफाँटलाई सुशासन मान्न सकिँदैन, सुशासनको परिभाषा फेरौँ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij