Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

जुत्ता सिलाएर मासिक ४० हजार कमाइ

जुत्ता सिलाएर मासिक ४० हजार कमाइ

  • अञ्जना पराजुली,विराटनगर । तराईको कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरो होस वा चर्को घाम वा झरी नै किन न होस, ७० वर्षीय पच्चुराम हरिसन सडक पेटीमा सधैं व्यस्त भेटिनुहुन्छ । पुराना र फाटेका चुत्ता र चप्पल सिलाउन औंला चलाइरहनुहुन्छ । प्रायः ग्राहकबाट उहाँ घेरिएका हुन्छन् ।

    onlinepatrika
    Arghakhachi

    विराटनगर महानगरपालिका गुद्री बजारस्थित हनुमान मन्दिर छेउमा बसेर विगत ४० वर्षदेखि जुत्ता, चप्पल सिलाउने र पोलिस लगाउने काम गरेर उहाँको दिन बित्ने गरेको छ । “यो आफ्नो पुर्ख्यौली पेशा हो, बुबाबाट हेर्दाहेर्दै सिकियो, अहिले फाइदै भएको छ”, उहाँले भन्नुभयो, “दुःखमा जीवन धान्ने सीप नै रहेछ ।” उहाँकहाँ जुत्ता–चप्पल सिलाउनेको भीड नै लाग्छ  । जुत्ता–चप्पल सिलाएबापत उहाँले रु २० देखि एक सय ५० सम्म लिने गरेको छ । “यही सीपले पेट पालेका छौं”, उहाँले भन्नुभयो, “यो पेशा अहिले आम्दानीका एउटा भरपर्दा माध्यम बनेको छ ।”

    AGNI GROUP

    कुनै तालीम नलिएको हरिसनसँग पेशाका लागि पुग्ने सीप छ । त्यही सीप आफ्नो परिवारको भविष्य निर्माणमा खर्चिन सडक पेटीमै बसेर उहाँ काम गर्नुहुन्छ । उहाँले यो पेशाबाट दैनिक कम्तीमा रु ५०० कमाउने गरेको बताउनुभयो । उहाँले पुरुष ग्राहकभन्दा महिला ग्राहक बढी पैसा दिने गरेकाले उहाँहरुप्रति मेरो सम्मान सधैँ नै उच्च छ भन्नुभयो । “प्रचण्ड गर्मी होस् वा बर्सात् वा हिउँद हामीलाई केही प्रभाव पर्दैन”, उहाँले भन्नुभयो,  “हामी एउटा छाता झुन्ड्याउँछौँ र आफ्नो काममा व्यस्त हुन्छौं ।” 

    ‘पसिना बगाएर खानुपर्छ’

    पच्चुराम हरिसनको उमेर घर्किदैँ गएको छ । तर उहाँलाई ‘सकुञ्जेल हातपाखुरा बजारेर खानुपर्छ’ भन्ने लाग्छ । त्यसैले ढल्किँदो उमेरमा पनि उहाँले जोस–जाँगरका साथ हात–पाखुरा चलाइरहनुभएको छ । “सकुञ्जेल हातपाखुरा बजारेर, श्रम–पसिना बगाएर खानुपर्छ” उहाँले भन्नुभयो, “त्यसैले मैले यो उमेरमा पनि आफूले जानेको काम गरिरहेको छु ।” हातमा सीप र मनमा जोस–जाँगर भए, यसै व्यवसायबाट मनग्य कमाउन सकिने र पैसा कमाउन विदेश जानुनपर्ने उहाँको भनाइ छ ।  “गर्न सक्नेलाई यहीँ पैसा छ । हातमा सीप र मनमा जोस–जाँगर भए यसै व्यवसायबाट राम्रो कमाउन सकिन्छ”, उहाँले भन्नुभयो । 


    हरिसनजस्तै विराटनगरमा धेरै व्यक्ति आफ्नै सीपबाट स्वरोजगार भएका छन् । तिनैमध्येका एक हुन् – मोची विनोदराम । विराटनगरको मुख्य बजार ट्राफिक चोकमा लगभग ३५ वर्षदेखि बसेर जुत्ताचप्पल सिलाएर उहाँले सात जनाको परिवार पाल्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “सडकपेटी नै हाम्रो घर भएको छ, बिहान ८ बजे आएर आफ्नो पसल लगाउँछौँ र राति अबेरसम्म काम गरेर घर फर्कने गरेका छौं ।” “म आफ्नो कामप्रति समर्पित छु, मैले बनाएको जुत्ताचप्पलमा ग्राहकले सन्तुष्टि व्यक्त गर्दा निकै खुशी लाग्ने गरेको छ”, उहाँले भन्नुभयो, “यो पेशामा धेरै पूँजी लगाउनु पर्दैन, मिहिनेत कम छ र आम्दानी पनि राम्रै हुन्छ ।”

    उहाँले यही पेशाको माध्यमबाट घरपरिवार चलाउनुका साथै छोरीलाई विद्यालयमा पढाउने गरेको बताउनुभयो । बुबाले यही पेशा अपनाउनु भएको थियो, बुबापछि अहिले म यो पेशा अपनाएको छु र यो परम्परा कहिलेसम्म चल्ने हो आफूलाई थाहा नभएको बताउने रामले भन्नुभयो, “भरपर्दो बासस्थान नभएकाले कहिले यहाँबाट लखेटिने हो, थाहा छैन ।” विनोदरामले भन्नुभयो, “अरू बेला जेजस्तो पीडा भोग्नु परे पनि कोरोना महामारीका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीले हाम्रो जीवन निकै कष्टप्रद बन्नपुग्यो ।” बन्दाबन्दीमा व्यापार बन्द भएपछि कति खेर राहत आउँछ र जीवनयापन सहज हुन्छ भन्ने चिन्तामा बसेका बेला केही साथीभाइ वा आफन्तले सहयोग गर्दा निकै खुशी लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बुबाबाजेको पेशाले जीवन त चल्छ तर धन आर्जन गर्न सकिन्न ।” 

    मासिक ४० हजार कमाइ  

    यस्तै विराटनगर रोडशेष चोकमा विगत २० वर्षदेखि यही पेशामा काम गर्दै आउनुभएका ५० वर्षीय श्याम मोचीले भन्नुभयो, “शुरुशुरुमा मानिसहरुले हेपेर कुरा गरेको देख्दा यो पेशा छाडेर अरू पेशा गर्ने सोच आयो । तर के गर्नु सोच मात्र आएर भएन, त्यसका लागि त धेरै पैसा चाहिन्छ । पैसाको अभावमा जुत्ताचप्पल सिलाएर समय बिताउँदैछु ।”

    “करीब रु पाँच हजार भएमा यो व्यवसाय सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “यो व्यवसायका लागि ब्रस, क्रिम, पोलिस, धागो, जुत्ताको भित्रको सुल, काँटी, तुना, सुलेसनजस्ता सामग्रीको आवश्यकता पर्दछ । ” उहाँले एकजोर जुत्ता सिलाएको रु एक सय ३० र चप्पल सिलाएको रु एक सय लिनुहुन्छ । “जुत्ता–चप्पल मर्मतका साथै बिक्रीबाट मासिक झण्डै ४० हजार कमाइ हुन्छ”, उहाँले भन्नुभयो । यस व्यवसायमा लागेपछि समयको सदुपयोगसँगै अर्थोपार्जन समेत भएको उहाँले बताउनुभयो । “उमेर घर्किदैँ गयो । बल–जोडको काम गर्न सकिँदैन । त्यसैले पुर्ख्यौली पेशालाई व्यवसायिक रुपमा सञ्चालन गरेको छु”, उहाँले भन्नुभयो, “बसिबियाँलो भएको छ, साथमा कमाइ पनि । यस व्यवसायबाट राम्रै कमाइ हुन्छ ।”

    विगतमा तराईमा विवाह वा महोत्सवमा बाजा बजाउने यी जातिका महिलाले सँुडेनीको काम पनि गर्ने गरेका थिए । यी समुदायका मानिसहरुले अहिले बाजा बजाउन छाडेका छन् भने उहाँहरुका नयाँ सन्ततिले वैदेशिक रोजगारतर्फ आकर्षित भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij