Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थायी समिति बैठक बोलाएका छन्।
यही वैशाख २९ गते स्थायी समितिको बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। बैठकमा आउँदो महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रम सम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजमा छलफल गरिने उनले बताए।
स्थायी समितिका निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्यूरो बैठक बोलाइएको छ। दुवै समिमिबाट आएका सुझाव सङ्कलन गरेर केन्द्रीय कमिटी बैठकमा पेश गरी साझा धारणा बनाउन लागिएको प्रचार विभाग प्रमुख खतिवडाले बताए।
बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर प्रतिनिधि छनोटका कार्यविधिबारे, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ। देशभर साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्य प्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले जानकारी दिए।
पछिल्लो राजनीतिक अवस्था, उपनिर्वाचनको समीक्षासमेत हुने बैठकमा समान विचार राख्ने राजनितिक दल, सङ्घसस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइनेछ। आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा एकीकृत समाजवादीको दशौँंराष्ट्रिय महाधिवेशन हुँदै छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij