
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । तीनकुनेमा गत चैत्र १५ गते राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारले मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।
सुरेशकी श्रीमती सुजनी मगिया लगायतले रहस्यमय र शंकास्पद अवस्थामा निधन भएको भन्दै घटनाको सत्यतथ्य छानबिनको लागि आयोगमा पुगेर निवेदन दिएका हुन् ।
‘आइतबार चैत्र १५ गते राजावादीको आन्दोलनको प्रत्यक्ष प्रसारण गर्ने क्रममा मेरो श्रीमान्को रहस्यमय र शंकास्पद अवस्थामा निधन भएको थियो । उक्त घटना योजनाबद्ध, षड्यन्त्र गर्दै वा कुनै अपराधिक कार्य भएको आशंका रहेको छ । र राज्यबाट उचित छानबिन नभएको कारणले म मानव अधिकार आयोग समक्ष सत्यतथ्य छानबिनको लागि यो निवेदन पेश गर्दछु । र शिघ्र न्यायको माग गर्दछु,’ निवेदनमा भनिएको छ ।
निवेदन बुझ्दै आयोगकी उपसचिव मञ्जु खतिवडाले उक्त घटना फास्ट ट्रयाकमा अनुसन्धान हुनुपर्छ भन्ने कुरालाई गम्भीर रुपमा लिएर आयोगले काम गरेको बताइन् । अनुसन्धानको सबै पाटो सक्किएको भन्दै उनले अब एक/दुई दिनमा नै अनुसन्धान बाट देखिएको विषय सार्वजनिक गर्नेसमेत जानकारी गराइन् ।
उनले भनिन्,‘यो घटनाको अनुसन्धान भन्दा पनि फास्टट्रयाकमा अनुसन्धान हुनुपर्छ । यो गम्भीर विषय हो भनेर आयोगले एकदम गम्भीरतापूर्वक लिएको विषय हो यो । अनुसन्धान अस्ति शुक्रबार फाइनल भयो र रिपोर्ट दर्तासमेत गरिसकेको छौं । एक दुई दिनमा यो कुराहरु हामी मिडियामा लिएर आउने छौं । हामीले के देख्यौं के पायौं भनेर ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij