
Jul 18 2025 | २०८२, साउन २ गते
काठमाडौं । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा बिहिबारदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत जिल्लाको काभ्रे भञ्ज्याङ देखि सिन्धुली–सीमा नेपालथोक सम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ ।
कार्यालयले सार्वजनिक अपील गर्दै मनसुन सक्रिय रहेको अवस्थामा विपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा आजदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको हो ।
बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोक सम्म ३४ किमी र चौँथोखण्ड नेपालथोक देखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको थियो ।
कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ । पूर्वीनेपाल जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij