
Jul 26 2025 | २०८२, साउन १० गते
काठमाडौं । एलिसन स्पोट्र्स प्रालिको आयोजनामा काठमाडौंको पेप्सीकोलामा ‘दोस्रो महिला फुटसल च्याम्पियनसिप–२०८२’ आयोजना हुने भएको छ ।
नेपाली महिलाहरुलाई फुटबल तथा फुटसल खेलमा प्रोत्साहन गर्ने उद्देश्यले यही भाद्र १८ गते आयोजना हुने प्रतियोगितामा नेपालभरका कुनैपनि स्थानमा बसोबास गर्ने महिलाहरुले आफ्नो टिम बनाएर सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टिमले ८ जना खेलाडी, १ जना कोच र १ जना टिम मेनेजरसहित १० जनाको टोली तयार गर्नुपर्ने सचिव रुपेश थापाले बताएका छन् ।
सबै उमेर समूहको महिलाले सहभागिता जनाउन पाउन भन्ने उद्देश्यले १६ वर्षसम्मकाले जुनियर टिम र १६ वर्षभन्दा माथिकाले सिनियर टिममा सहभागिता जनाउन पाउनेछन् । सिनियर टिममा सहभागिता जनाउन खुल्ला भएकाले राष्ट्रिय खेलाडी वा ‘ए’ डिभिजनमा खेलिसकेका खेलाडीहरुले पनि खेल्न पाउने अध्यक्ष सगुन थापा मगरले बताए ।
सिनियरतर्फको विजेता टिमले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही २ हजार ५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यसैगरी जुनियर तर्फको विजेता टिमले २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुका साथै उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही १ हजार ५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने मगरले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिताका लागि आवेदन खुल्ला गरिसकिएकोले इच्छुक टिमले सिनियरतर्फ .५ हजार ५ सय रुपैयाँ र जुनियरतर्फ ३ हजार रुपैयाँ दर्ता शुल्क बुझाइ, फर्म भरी परिचयपत्र भाद्र १५ गते आइतबार बेलुका ५ बजेसम्म बुझाएर टिम दर्ता गराउनुपर्ने बताइएको छ ।
यसैगरी सो समय पश्चात आएका फर्मलाई टाइसिटमा सहभागिता नगराउने आयोजकले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij