Logo

Aug 12 2025 | २०८२, साउन २७ गते

Aug 12 2025 | २०८२, साउन २७ गते

प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    images
    images
    images

    १.राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न नमिल्ने आदेश भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले लामिछानेले पेश गरेको निवेदनमा आदेश दिदै उनले मागे बमोजिम नहुने फैसला गरेका छन् । लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए । उनले निवेदनसँगै बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका थिए । लामिछाने बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा गत चैत २५ देखि रुपन्देही कारागारमा थुनामा रहेका छन् ।

    images

    २.पशुपति आर्यघाटमा शव दाह संस्कार स्थलमा हड्डी निकालेको आरोपमा संलग्न दुई जना पक्राउ परेका छन् । साउन २३ गते पशुपति आर्यघाटको २ नम्बर चितामा शव जलाउने क्रममा जल्दै गरेको मृत शवबाट हड्डी निकाली अन्यत्र लैजाने उद्देश्यले बट्टामा राखेको आरोपमा गणेश प्रसाद ढकाल भन्ने जिवनाथ ढकाल र बिनायक मैनालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुलदिप चन्दले दुवैलाई अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट सोमबार ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

    ३.काठमाडौंको कलंकी नापी कार्यालयका सहयोगी एकेन्द्र कुँवर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिका-१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग १३ हजार घुस लिएको अवस्थामा नापी कार्यालय कलंकीको कार्यालय परिसरबाट सोमबार पक्राउ गरेको जनाएको छ । अख्तियारले नापी कार्यालय कलंकीका कार्यालय प्रमुखको २ मोबाइल, कार्यालयका सर्भेक्षकको एक मोबाइल पनि बरामद गरेको अख्तियारले जानकारी दिएको छ ।

    ४.मुस्ताङको घाँसा-बेनी सडक खण्ड रातिमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले मनसुन् जन्य प्रभावका कारण बाढी पहिरोको जोखिम कायमै रहेकोले साउन २७ गतेदेखि घाँसा देखि बेनी जाने सवारी साधनलाई बेलुका ६ बजेदेखि बिहान ५ बजे सम्मलाई अर्को सूचना नभए सम्मको लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको बताउदै यस समयमा सवारी साधन आवगमन बन्द रहने जानकारी दिएका छन् ।

    images

    ५.ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कासँग अष्ट्रेलियाकी नेपालस्थित राजदूत लिआन जोनस्टनले शिष्टाचार भेट गरेकी छन् । ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले नेपाल सरकार र मन्त्रालयको तर्फबाट राजदूत जोनस्टनलाई स्वागत गर्दै नेपाल–अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध यस वर्ष ६५ औं वर्षमा प्रवेश गरेको प्रसंग स्मरण गरे । भेटका क्रममा राजदूत जोनस्टनले मन्त्री खड्कालाई ८–१० सेप्टेम्बर २०२५ मा फ्रान्सको पेरिसमा आयोजना हुने अन्तर्राष्ट्रिय पम्प्ड स्टोरेज जलविद्युत सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा गरेकी छन् । 

    ६.सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदन त्रुटिको छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको कार्यान्वयनका विषयमा अलग अलग छलफल गरेका छन् । सभामुख घिमिरेले सत्तारुढ एमाले मुख्य सचेतक महेश कुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयसँग छलफल गरेका छन् । सभामुखले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताएका छन् । कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधिन रहेको बताउँदै उनले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरेका छन् । राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवकोरुपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै समितिको काम अब धेरै समय रोक्न नसकिने उल्लेख गरे ।

    ७.प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताएका छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको सपथ ग्रहण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका अध्यक्ष ओलीले स्थापित नेताको सम्मानमा खोलिएका  र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुन नहुने स्पष्ट गरेका हुन् । उनले भने- 'मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकको घडीमा जनताको बहुललीय जनवाद (जबज)को वैचारिकतालाई अगाडि बढाउन २०५० जेठ ९ गतेको पार्टी निर्णयबाट खोलिएको हो । पछि पार्टीले मदन जयन्ती मनाउने सन्दर्भमा पनि पर्याप्त ध्यान नदिएको अवस्थामा व्यक्तिगत आधारमा मदन भण्डारी फाउण्डेशन खोलिएको थियो । अहिले फाउण्डेशनका गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको छ । यस्ता संस्थाहरु पार्टीसँग निष्ठावान हुनुपर्छ । पार्टी हित विपरीत प्रयोग हुनु हुँदैन ।'

    ८.भुटानमा सम्पन्न भएको एएफसी यू-२० महिला एशिया कप छनौटमा भाग लिएर नेपाली राष्ट्रिय यू-२० महिला टोली आज स्वदेश फर्केको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए । भुटान साउदी अरबिया र उत्तर कोरिया सम्मिलित समूहमा नेपाल एक जित एक बराबरी र एक हारसहित समूह दोस्रो भएको थियो । भुटानसँग १-१ को बराबरी खेलेको नेपालले साउदी अरेबियासँग १-० को जित हासिल गरेको थियो भने उत्तर कोरियासँग ११-० को हार बेहोरेको थियो ।

    ९.नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमा २५ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधि सभाबाट पारित भइसकेको विधेयकलाई राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकोमा २५ जना सांसदहरुले संशोधन प्रस्ताव राखेका हुन् । सांसदहरूद्वारा दर्ता गरिएको संशोधन प्रस्तावले विधेयकमा समावेश अस्पष्ट प्रावधानहरू सच्याउने माग गरिएको छ । विधायन व्यवस्थापन समितिले सोमबारदेखि विधेयकमाथि छलफल समेत थालेको छ ।  विधेयकमा नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोवास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिए बमोजिम स्वघोषणा गरेमा अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्नसक्ने’ व्यवस्था राखिएको छ। त्यस्तै, १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्था विधेयकमा राखिएको छ ।

    १०.अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनिल आचार्य, सुमन कुमार लुइटेल र बिकल गिरीले संयुक्त रूपमा दायर गरेको रिटमा २०८२ साउन १४ गते राजपत्रमा प्रकाशित 'नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२' मार्फत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा थपिएको दफा ७(ख) खारेज गर्न माग गरिएको छ । रिटमा संशोधित दफाले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नविकरणको अधिकार जिल्ला प्रशासन कार्यालयमा सीमित गरेको छ, जसले संविधानको धारा १७(२)(क) र १९ मा प्रदत्त प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमा प्रत्यक्ष अतिक्रमण गर्छ ।

    ११.आज नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से सोमबार २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज रिभर फल्स पावरको शेयरमा ९.९९ प्रतिशतले बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर ६.८७ प्रतिशतले बढेको छ । त्यस्तै आज उन्नति लघुवित्तको शेयर मुल्य ७.६४ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार शिभम सिमेन्टको ५३ करोड ८८ लाख र हिमालयन रिइन्सुरेन्सको ४२ करोड ८३ लाखको कारोबार भएको नेप्सेले जनाएको छ । 

    १२.प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीबाट  नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको हो । मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए । उनले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायतका काममा पनि चासो दिन आग्रह गरे ।

    १३.रबि लामिछानेलाई कारागारमा राखिएको विषयमा समाचार बाहिर आएपछि मानवाधिकार आयोगको टिमले रुपन्देही कारागारको अनुगमन गरेको छ । मानवाधिकार आयोगकी आयुक्त लिली थापासहितको टोलीले सोमबार कारागारको अनुगमन गरेको हो । अनुगमनपछि आयुक्त थापाले लामिछाने बस्ने कोठाको झ्याल बन्द गरिएको पाइएको बताउदै कारागार प्रशासनले खोलिदिने बताएको उनले जानकारी दिएकी छन् । उनले भनिन्- 'झ्याल समेत नभएको पाइएको छ । कारागारको प्रमुखले सुरक्षाको कारणले झ्याल बन्द गरिएको बताउनु भएको छ । तर अब उहाँले खोलिदिन्छु भन्नु भएको छ । अर्को अदालतले बन्दीको स्थानान्तरण गर्न दिएको आदेश पालना नगरिएको विषयमा आयोगले गम्भीर रुपमा छलफल गर्छ । स्रोत साधन कम भएको र २५० जनाको क्षमता भएकोमा ७०० जनालाई व्यवस्थापन गरेकोमा कारागार प्रशासनलाई धन्यवाद छ ।' 

    १४.पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुनसरीमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवा टोलस्थित सडक खण्डमा आज बिहान भएको बस र विङ्गर माइक्रो ठोक्किदा ४ जनाको मृत्यु भएको छ बहने २३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान करिब ७ बजे काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको मातृ डिलक्स बस र सप्तरीको राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ज ००४८ नम्बरको विङ्गर माइक्रो ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा सुनसरी कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा, सप्तरी मधावे गाउँपालिका–६ का ३५ वर्षीय शंकर मण्डल, विराटनगरका अशोक यादव र अन्य एक अन्दाजी ४५–५० वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार घाइते ४ जनाको अवस्था गम्भीर रहेको छ ।

    १५.सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको फिल्म ‘वरिष्ठ बलराम’ भाइटीकामा रिलिज हुने भएको छ । यो फिल्मलाई कार्तिक ६ गते भाइटीकामा रिलिज गरिने भएको हो । यसअघि ‘टाइटल टिजर’ भिडियो सार्वजनिक गर्दै निर्माताले यो सिनेमा कात्तिक ३ गते लक्ष्मी पूजाका दिन रिलिज हुने बताएका थिए । फिल्म ‘वरिष्ठ बलराम' मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

    १६.अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बताएका छन् । यसअघि बेलायत, फ्रान्स र क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बारेमा कुरा गरेका छन् । अल्बानीजले प्यालेस्टाइन प्राधिकरण (पीए) ले अष्ट्रेलियासँग केही वाचा गरेको छ, जसमा सेना र हतियार घटाउने, आम चुनाव गर्ने र इजरायलको अस्तित्वलाई मान्यता दिने समावेश रहेको बताएका छन् । उनले सोमबार भने- 'दुई देशलाई मान्यता दिनु भनेको मध्यपूर्वमा हिंसा अन्त्य गर्ने र गाजामा द्वन्द्व, पीडा र भोकमरी अन्त्य गर्ने मानवताको सबैभन्दा राम्रो आशा मध्ये एक समाधान हो ।'

    १७.नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । श्रेष्ठ निवास हात्तीबनमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। पछिल्लो समय श्रेष्ठले अन्य दलका नेताहरुसँग भेटवार्ता तिब्र बनाएका छन् ।  यस अघि श्रेष्ठले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग डल्लु निवास पुगेर भेट गरेका थिए । त्यसअघि श्रेष्ठले एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग आफ्नै निवासमा भेट गरेका थिए ।

    १८.माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आइपीओ खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा १२ करोड ४८ लाख ९० हजार ४०० बराबरको १२ लाख ४८ हजार ९०४ कित्ता साधारण शेयर निष्काशन गरेको हो । कुल शेयरमध्ये ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । निष्काशन साउन २९ गते छिटोमा बन्द हुनेछ । माबिलुङ्ग इनर्जीले सञ्चालन गरिरहेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रहेको छ । माबिलुङ्ग इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहनेछ ।

    १९.नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ११ सयले घटेर तोलाको एक लाख ९८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९९ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २३१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २३३० मा कारोबार भएको थियो ।

    २०.विपिन जोशीको अवस्था बारे जानकारी लिन उनकी आमा र बहिनी इजरायल गएका छन् । विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आइतबार इजरायल गएका हुन् । उनीहरुलाई नेपालका लागि इजरायलका राजदुत श्मुलिक एरी बासलगायतले बिदाई गरेका थिए ।उनीहरुलाई इजरायल सरकारले नै लागेको बुझिएको छ । यसक्रममा उनीहरुलाई विपिन जोशीको खोजीको अहिलेसम्मको प्रयास बारे जानकारी दिने र इजराइली नेताहरु, कर्मचारी, सेनाका उच्चतहका जनरल लगायतसँग भेट हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij