
Aug 14 2025 | २०८२, साउन २९ गते
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१.निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीसहितको कार्यसमिति अध्यावधिक गरेको छ । आयोगको बुधबार बसेको बैठकले रास्वपाको केन्द्रीय समिति पदाधिकारी तथा सदस्य हेरफेर भएको विवरण अध्यावधिक गर्ने निर्णय गरेको हो । यस अघि अघि आयोगले रास्वपाको कार्यसमिति अध्यावधिक नहुदा तत्कालिन महामन्त्री डा. मुकुल ढकालले आफु अहिले पनि महामन्त्री रहेको दाबी गर्दै आएका थिए । अध्यावधिक भएको विवरण अनुसार रास्वपाको १० जनाको पदाधिकारी रहेको छ भने ६२ सस्यीय केन्द्रीय समिति रहेको छ । यसै विषयमा ढकालले दायर गरेको रिट समेत सर्वोच्च अदालतले मंगलबार खारेज गरेपछि रास्वपाको पदाधिकारी विवाद सकिएको छ ।
२.अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता हुने भएको छ । दुवै दलबीच विहिबार कार्यगत एकता घोषणा गर्ने तयारी भएको छ । कुनै समय एकै दलमा रहेका अशोक राई र राजेन्द्र महतो हाल अलग अलग पार्टी बनाएर राजनीति गरिरहेका छन् । विहिबार दिउसो ३ बजे नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेशमा हुने कार्यक्रममा दुवै दलबीच एकता उन्मुख कार्यगत एकता हुने बताइएको छ ।
३.अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा महिला लिग छनौट प्रतियोगिता सन्चालन गर्ने भएको छ । श्रावण २९ गतेबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महिला लिग छनौट २०२५ आयोजना हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका हुन् । शाहले यस प्रतियोगिताको लागि सम्पुर्ण तयारीहरु पुरा गरिसकेको जानकारी दिदै प्रतियोगिताको खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्स खेल मैदान र च्यासलस्थित च्यासल रंगशालामा हुने बताएका छन् । प्रतियोगितामा देशभरका १४ क्लबहरु न्यूरोड टिम (काठमाडौं), विद्यार्थी फुटबल क्लब (काठमाडौं), सिन्धुपाल्चोक एफसी (सिन्धुपाल्चोक), आरएस रिसोर्ट एण्ड बिच फुटबल (कास्की), राप्ती फुटबल क्लब (काठमाडौं), एनबीएम पोखरा गर्ल्स एफसी (कास्की), नेपाल खेलकुद क्लब (रौतहट), लम्की फुटबल क्लब एण्ड ट्रेनिङ सेन्टर (कैलाली), झापा एफसी (झापा), एफसी रियले (भक्तपुर), चर्च ब्वाइज युनाइटेड (ललितपुर), छहरी युवा क्लब (काठमाडौं), बुटवल लुम्बिनी एफसी (रुपन्देही), संकटा फुटबल क्लब (काठमाडौं) को सहभागिता रहने एन्फाले जानकारी दिएको छ । प्रतियोगिताबाट कुल पाँचवटा टोलीहरु एन्फा महिला लिगको लागि छनौट हुनेछन् । सहभागी १४ टिमहरुलाई दुइ समुहमा विभाजन गरिएको छ । हरेक टिमले आफ्नो समुहमा ६ वटा खेलहरु खेल्नेछन् । दुवै समुहको विजेता र उपविजेता टिमहरु स्वत एन्फा महिला लिगको लागि छनौट हुनेछन् भने समुहको तेस्रो स्थानका टिमहरुबीच एक नकआउट खेल खेलाइ विजेता टिम छनौट गरिनेछ । प्रतियोगितामा कुल ४३ वटा खेलहरु खेलिनेछन् । प्रतियोगिताको अनुमानित कुल बजेट ८९ लाख ७३ हजार ५७१ रहेको एन्फाले जानकारी दिएको छ ।
४.ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले मुलुकभर लोडसेडिङको हल्ला निरर्थक भएको बताउँदै सरकारको ऊर्जा आपूर्ति सुधारको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जिकिर गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको उत्तर दिँदै मन्त्री खड्काले मुलुकका केही क्षेत्रबाहेक अधिकांश स्थानमा विद्युत् आपूर्ति सहज रूपमा भइरहेको जानकारी दिएका थिए । उनले भने- 'हामीले सुधारलाई तीव्रताका साथ अघि बढाएका छौं र विद्युत् उत्पादनलाई निरन्तरता दिएका छौं। त्यसैले लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु ।'
५.दक्षिण कोरियाकी पूर्व प्रथम महिला तथा पूर्व राष्ट्रपति युन सुक-योलकी पत्नी किम क्योन ही पक्राउ परेकी छन् । उनलाई स्टक हेरफेर, चुनावी हस्तक्षेप र घुसखोरीको आरोपमा पक्राउ गरिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । योनहाप समाचार एजेन्सीका अनुसार, किमलाई धेरै गम्भीर आर्थिक र राजनीतिक अपराधको आरोप लगाउने विशेष अभियोजक मिन जंग-कीको टोलीले गरेको अनुसन्धानको एक भागको रूपमा यो गिरफ्तारी गरिएको हो । सियोल केन्द्रीय जिल्ला अदालतले मंगलबार किमले प्रमाणसँग छेडछाड गर्न सक्ने भन्दै गिरफ्तारी वारेन्टलाई स्वीकृत गरेको थियो । किममाथि २००९ देखि २०१२ सम्म ड्यूश मोटर्सको शेयर मूल्यमा हेरफेर गरेको आरोप छ । यसका साथै, २०२२ को उपचुनाव र २०२४ को आम चुनावमा उम्मेदवार छनोटमा हस्तक्षेप गरेको र व्यावसायिक लाभको बदलामा दिइएको कथित रूपमा युनिफिकेशन चर्चबाट महँगो उपहार स्वीकार गरेको आरोप पनि छ । अनुसन्धानमा आफ्नो परिवारको जग्गालाई फाइदा पुर्याउन राजमार्गको अन्तिम बिन्दु परिवर्तन गर्ने र स्थानीय अपार्टमेन्ट परियोजनामा पक्षपात गर्ने काम पनि समावेश छ ।
६.पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को अनिवार्य नेपाली किताबमा भएको एक त्रुटीलाई सच्याएको छ । कक्षा ९ को नेपालीको एउटा पाठमा ‘पोहोर साल खुसी फाट्दा’ भन्ने गीतको रचनाकारको नामको विषयमा भएको त्रुटि केन्द्रले सच्याएको जानकारी दिएको हो । सो गीतको रचनाकार राजेन्द्र थापा हुनुपर्नेमा पुस्तकमा अम्बर गुरुङ उल्लेख गरिएको थियो । सूचनामा भनिएको छ- 'यस केन्द्रबाट वि. स. २०७९ सालमा तयार गरी कार्यान्वयनमा रहेको कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकको पाठ ५ पृष्ठ सङ्ख्या ५४ को बोध र अभिव्यक्ति खण्डको अभ्यास १३ मा रहेको 'यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने ....' भन्ने गीतको रचनाकार अम्बर गुरुङ भनी उल्लेख भएकामा सोको आधिकारिकता खोजी गर्दा उक्त गीतको रचना राजेन्द्र थापाले गर्नुभएको पुष्टि भएकाले पाठ्यपुस्तकमा सोहीबमोजिम सच्याइएको हुँदा सम्बन्धित शिक्षण संस्थाहरूले अद्यावधिक तथ्यअनुसार शिक्षण सिकाइ क्रियाकलाप गर्नु गराउनुहुन निर्णयानुसार अनुरोध छ ।' गीतकार थापासहित विभिन्न सरोकारवालाहरुले सो गल्ति औल्याएपछि केन्द्रले बुधबार सच्याएको जानकारी दिएको छ ।
७.आज पनि नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका एक करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ९३४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
८.राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा फुटको बिजारोपण भएको छ । बुधबार बिहान काठमाडौँको चाबहिलमा आयोजित राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौँ जिल्ला अधिवेशनमा लफडा भएपछि राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेर फुटको बिजारोपण गरेको हो । जिल्ला अधिवेशन शुरु हुनु अघि नै नाराबाजी र होहल्ला भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन अधिवेशन स्थगित भएको भन्दै बाहिरिएका थिए समिति विभाजित भएको छ । राप्रपा जिल्ला अधिवेशनमा दुई पक्षबिच हात हालाहाल भएको थियो । त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगनको घोषणा गरेका थिए । अध्यक्ष लिङदेनले अधिवेशन स्थगित भएको भन्दै कार्यक्रमस्थल छोडेर हिँडेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको छ । लामा राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहका हुन् । नयाँ कार्य समिति २८ सदस्यीय बनाइएको बताइएको छ ।
९.प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता दिने कानुन ल्याउन लागेको हल्ला चलाएको भन्दै त्यस्तो कानुनी ल्याउन नलागेको स्पष्ट गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुविवाहलाई मान्यता दिनेगरी कानुन ल्याउन लागिएको हल्ला चलाइएको बताउदै बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान नगरिने बताएका हुन् । उनले भने- 'केहि हल्लाहरु चल्ने गरेका छन्, जसको आधार छैन, तर एउटा विषय बहुत सेन्सेटिभ भएर उठेको छ, हल्ला कसले चलायो ? सरकारले थाहा पाएको छैन । मैले थाहा पाएको छैन । कहाँबाट आउँछ त्यो ? बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउन लागिएको छैन र बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिने छैन ।' उनले सामाजिक जागरण, सामाजिक न्याय, महिला हकअधिकारका लागि लडेर आएका पार्टीको सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने हल्ला कसले चलायो भन्दै प्रश्न गरे । उनले अरु पनि यस्ता हल्ला चलाइएको भन्दै आफु त्यसको पछि नलाग्ने स्पष्ट गरेका थिए ।
१०.जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीले तदर्थ समिति गठन गरिएको भन्ने विज्ञप्तिप्रति आफुहरुको गम्भिर ध्यानकर्षण भएको जनाएको छ । राष्ट्रिय खेलकुद परिषदमा दर्ता रही आवधिक रुपमा निर्वाचन हुँदै आएको अध्यक्ष जीवनराम श्रेष्ठ र राजिव श्रेष्ठ महासचिव रहेको एक मात्र नेपाल ओलम्पिक कमिटी नेपालको आधिकारीक, अर्न्तराष्ट्रिय ओलम्पिक कमिटी, ओलम्पिक काउन्सिल अफ एशिया र एसोसियसन अफ नेशनल ओलम्पिक कमिटीजबाट मान्यता प्राप्त ओलम्पिक रहेको स्पष्ट गरिएको छ । विज्ञप्तिमा अर्न्तराष्ट्रिय ओलम्पिक कमिटीको बडापत्र तथा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ दफा ३७ ले समेत एउटा देशमा एउटा मात्र ओलम्पिक कमिटी रहन सक्ने व्यवस्था गरेको उल्लेख गर्दै एउटा ओलम्पिक कमिटी हुँदा हुँदै केही अनाधिकृत व्यक्तिहरुको भेलाले तदर्थ समिति गठन गर्न नसकिने उल्लेख गरेको छ ।
११.प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेलाई 'राजनीतिक प्रतिशोध' भएको भाष्य बनाउन खोजेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रवि लामिछानेको नाम नलिएर एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको बताएका हुन् । उनले भने- 'लाखौं जनताले सहकारीमा गरेको वचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ । अदालतले मुद्दा हेरिरहेको छ । पूर्वमन्त्री, पूर्वसांसद्, वहालवाला मेयर लगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको छ । तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ । एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारवाही हो ? अर्बौं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौं मध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो ? कुनकुन व्यक्तिमाथिको थुना जायज हो ?'
१२.अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘पार्वती’ मा दीपाश्री निरौलाको इन्ट्री भएको छ । निताले दिपाश्रीसँग लिखित सम्झौता गरेकी छन् । नीता स्वयंले मुख्य भूमिकामा अभिनय गर्न लागेको फिल्ममा डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा जोडिएका छन् । आगामी असोजदेखि छायांकन सुरु हुने यो फिल्मको गत शनिबार दुईवटा पोस्टर सार्वजनिक गर्दै आगामी माघ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । नीता फिल्म्सको ब्यानरमा बन्ने फिल्मको कथा नीता स्वयंले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । भारतीय छायाँकार कवीर लाल र शाहिद लालले फिल्म खिच्नेछन् । कवीरले नीताको अघिल्लो फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन गरेका थिए । फिल्ममा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाको लगानी रहने बताइएको छ ।
१३.मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ २४ लाख ५० हजारसहित मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्य पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतसमेतको मिलेमतो र योजनामा सेवाग्राहीसँग दुवैविरुद्ध २४ लाख ५० हजारको विगो कायम गरि मुद्धा दायर गरिएको जानकारी दिएको छ ।
१४.राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद अशोक बहादुर चौधरी र राप्रपाका सांसद दिपक बहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । सांसद चौधरीले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए । त्यस्तै राप्रपा सांसद सिंहले आफुहरुले भिजिट भिसाको विरोध नगरेको बताउदै भिजिट भिसाको नाममा चलाइएको असुली धन्दाको छानबिन गर्न माग गरेको बताउदै छानबिन समिति गठन नगरेसम्म आफुहरुको आन्दोलन जारी रहने बताए । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।
१५.शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् । कोइरालाले सामाजिक सञ्जालमा आफ्नो राजीनामाको इमेल सार्बजनिक गरेका छन् । उनी हाल अमेरिकामा रहेको बताइएको छ। कोइरालाले व्यक्तिगत कारणले काम गर्न असमर्थ भएको भन्दै राजीनामा दिएको बताएका छन् । डा. कोइरालाले गंगालाल अस्पतालमा २५ वर्ष बिताएको उल्लेख गर्दै शहीद गंगालाल राष्ट्रिय हदृय तथा स्नायु केन्द्रका रुपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वत रहेको उल्लेख गरेका छन् । साथै उनले सल्लाह सुझावका लागि हरदम उपलब्ध हुने पनि बताएका छन् । कांग्रेस निकट कोइराला यस अघि गगन थापा स्वाथ्यमन्त्री हुदा उनको सल्लाहकार टिममा बसेर समेत काम गरेका थिए ।
१६.निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षको रुपमा रञ्जिता श्रेष्ठलाई नै मान्यता दिएको छ । आयोगको बोर्ड बैठकले संस्थापक बहुमत सदस्यहरूको भेलालाई मान्यता दिन अस्वीकार गरेको आयोग स्रोतले जानकारी दिएको छ । नाउपाको भेलाले श्रेष्ठलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो । पार्टी संरक्षक रेशम चौधरी समुहको भेलाले साउन १६ गते लालवीर चौधरीलाई अध्यक्षतामा सर्वसम्त चयन गरेर आयोगमा जानकारी गराएको थियो । त्यसपछि संस्थापक अध्यक्ष रहेकी रञ्जिताले पनि निर्वाचन आयोगमा आफु अध्यक्ष रहेको दाबीसहित निवेदन दिएकी थिइन् । दुवैको निवेदन परेपछि दुवैसँग जवाफ मागेको आयोगले रञ्जिता श्रेष्ठलाई नै अध्यक्षको मान्यता दिएको छ । रञ्जिता विवादित अडियो प्रकरणमा मुछिएपछि विवादमा रहेकी छन् भने उनी अख्तियारको छानविनको दयारामा समेत रहेकी छन् ।
१७.बलिवुडको फिल्म सैयारा फेम अभिनेता अहान पाण्डे र अभिनेत्री अनीत पडडाले पहिलो अवार्ड पाएका छन् । दुवै स्टारले आफ्नो अद्भुत प्रेमकथाको लागि आइएमडिबी 'ब्रेकआउट स्टार स्टारमिटर' अवार्ड प्राप्त गरेका हुन् । सैयाराले आफ्नो कमाईको आधारमा भारतका शीर्ष फिल्महरूमा १४औं स्थानमा आएको छ । मोहित सुरी निर्देशित यस फिल्ममा, अहानले गायक कृष कपूरको भूमिका निर्वाह गरेका छन्, जबकि अनीत एक उदीयमान लेखक वाणी बत्राको भूमिकामा छन् । वाणीले कृषको लागि गीत लेख्छिन् र त्यसपछि उनीहरूको रोमान्स सुरु हुन्छ । यद्यपि, यससँगै आउने चुनौतीहरू 'सैयारा' को वास्तविक कथा रहेको छ । यस जोडीलाई आइएमडिबीको 'लोकप्रिय भारतीय सेलिब्रेटी र्याङ्किङ' मा उनीहरूको प्रदर्शनको आधारमा यो अवार्ड दिइएको हो । यो र्याङ्किङ विश्वभरका प्रयोगकर्ताहरूको आधारमा गरिएको हो । यो फिल्म जुलाई १८ मा रिलिज भएको थियो, त्यसपछि यो जोडी आइएमडिबीको वरीयताको शीर्ष स्थानमा रहेका थिए । यस फिल्ममा आफ्नो अभिनयसँगै, दुवै स्टारहरू विश्वव्यापी स्तरमा शीर्ष १०० मा पुगेका छन्, जसमा अनित पड्डा ६४औं स्थानमा छन् र अहान पाण्डे ७५औं स्थानमा छन् ।
१८.नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको एक सयले घटेर तोलाको एक लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९६ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य बहने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २३२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २३०५ मा कारोबार भएको थियो ।
१९.चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ । बुधबार बिहान सपना म्युजिक इन्डस्ट्रीज युट्युब च्यानलमा 'म त नराउरी' बोलको गीत सार्वजनिक भएको हो । यो गीत 'पुतलीको भट्टी' भाग २१ का रूपमा ल्याइएको उल्लेख छ । यस गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।
२०.वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई २०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २९५ रनको लक्ष्य पछाएको पाकिस्तानले २९.२ ओभरमा अल आउट हुदै केवल ९२ रन बनाएको थियो । पाकिस्तानका लागि सलमान आघाले २० र मोहमद नवाजले २३ रन बनाएका थिए । त्यसैगरी पाकिस्तानको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा वेस्ट इन्डिजका बलर जयडेन सील्सले सर्बाधिक ६ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाउदै २९४ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान शाइ होपले १२० रनको शतकीय पारी खेलेका थिए भने जस्टिन ग्रीभ्सले अविजित ४३ रन बनाएका थिए । यो जितपछि वेस्ट इन्डिजले ३ खेलको सिरिज २-१ ले जितेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij