Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने भएको छ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्न लागेको हो। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका बेग्लाबेग्लै प्रस्तावमाथि आज छलफल हुनेछ।
प्रधानमन्त्री ओलीनिकट एक सचिवालय सदस्यले दिएको जानकारीअनुसार दिउँसो धुम्बाराहीमा सचिवालय बैठक बस्ने भएको हो। गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै प्रस्ताव पेश गरेका थिए।
प्रचण्डको उक्त प्रस्तावमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी प्रतिवेदन सचिवालयमा पेश गरिसकेका छन्। उक्त प्रताव अध्ययन गर्न सचिवालय सदस्यलाई आजसम्म समय दिइएको थियो।
अध्यक्ष ओलीसहित उनी पक्षका नेताहरूले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने बताउँदै आएका छन् भने प्रचण्डसहित नेताहरूले उक्त प्रस्तावमाथि सचिवालयमा छलफल हुनुपर्ने अडान राखेका छन्। नेकपाका केही नेताहरूले दुवै अध्यक्षका प्रस्तावलाई समेटेर साझा प्रस्ताव ल्याउनुपर्ने पनि धारणा राखेका छन्।
पछिल्लो समय अध्यक्षद्वय ओली र प्रचण्डबीच सम्बन्ध चिसिएको छ। स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली तयार नभएको भन्दै प्रचण्डसहित उनी पक्षका नेताको भनाइ छ। कात्तिक मसान्तदेखि नै अध्यक्षद्वय ओली र प्रचण्डबीच ‘वान टु वान’ संवाद भएको छैन।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij