Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको आक्रमण रद्द गरेको जानकारी सार्वजनिक गरेका छन् । यो घोषणा गर्नुभन्दा केही घण्टाअघि मात्रै उनले इरानमाथि ठूलो आक्रमण गर्ने चेतावनी दिएका थिए ।
तर, उक्त घोषणा गरेलगत्तै उनले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यको प्रारम्भिक सम्झौतानजिक पुगेको दाबी गरेका छन् । बिहीबार ओभल अफिसमा पत्रकारहरूसँग ट्रम्पले भने, “हामीले इरानसँगको युद्ध अन्त्य गर्ने दिशामा एउटा ठूलो उपलब्धि हासिल गरेका छौँ ।”
यद्यपि, इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै सम्झौताबारेका समाचारहरू अनुमानमा आधारित रहेको बताएका छन् । उनले अहिलेसम्म कुनै पनि विषय अन्तिम रूपमा तय नभएको बताएका छन् ।
ट्रम्पले यसअघि पनि अमेरिका–इरानबीचको द्वन्द्व अन्त्य गर्ने सम्झौतानजिक पुगेको दाबी पटक–पटक गर्दै आएका थिए ।
गत अप्रिलमा युद्धविराम भए पनि त्यसयता अमेरिका र इरानबीच छिटफुट सैन्य झडप तथा जवाफी आक्रमणहरू जारी छन् ।
ट्रम्पका अनुसार प्रस्तावित सम्झौताले इरानलाई कहिल्यै पनि आणविक हतियार विकास गर्न नदिने सुनिश्चित गर्नेछ । उनले भने, “इरानसँग कहिल्यै पनि आणविक हतियार नहोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो । यही विषयलाई केन्द्रमा राखेर हामीले यो प्रक्रिया अघि बढाएका हौँ ।”
ट्रम्पले कागजातहरू अन्तिम चरणमा पुगेको दाबी गर्दै हस्ताक्षर कार्यक्रम सम्भवतः युरोपमा आयोजना हुने बताए । र, त्यो निकै चाँडै सम्पन्न हुन सक्ने बताए । उनले सम्झौतामा हस्ताक्षर भएपछि होर्मुज जलमार्गमध्ये पुनः खुला गरिने दाबी गरे ।
अमेरिकी राष्ट्रपतिले आफूले खाडी क्षेत्रका नेताहरू तथा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग कुराकानी गरेको बताए । उनले मध्यपूर्व यो सम्भावित समझदारीप्रति सकारात्मक रहेको बताए ।
तर, नेतन्याहूको कार्यालयले इजरायल उक्त समझदारीको प्रत्यक्ष पक्ष नरहेको स्पष्ट पारेको छ । कार्यालयले जारी गरेको वक्तव्यमा इजरायलले युरेनियम संवर्द्धन कार्यक्रम नियन्त्रण, मिसाइल उत्पादनमा सीमा तथा इरान समर्थित क्षेत्रीय समूहहरूलाई दिइने सहयोग अन्त्यजस्ता विषयलाई प्राथमिकतामा राखेको छ ।
इरानी प्रवक्ता बघाईले भने अधिकांश मस्यौदा तयार भइसके पनि अमेरिकाले अत्यधिक मागहरू राखेको बताएका छन् । उनले नयाँ सर्तहरू थपेको आरोप लगाएका छन् । उनले इरान आफ्ना ‘रेड लाइन’बाट पछि नहट्ने बताएका छन् ।
सम्झौताबारेको दाबी सार्वजनिक हुनुअघि ट्रम्पले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुलगायत ऊर्जा पूर्वाधारलाई निशाना बनाउने चेतावनी दिएका थिए । खार्ग टापुबाट इरानको कुल तेल निर्यातको करिब ९० प्रतिशत हिस्सा हुने गर्छ ।
जवाफमा इरानी सेनाले थप अमेरिकी आक्रमण भए अझ कठोर प्रतिकार गरिने चेतावनी दिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij