काठमाडौँ । बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका वडा नं. ५ बस्ने तथा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ घर भएका ४२ वर्षीय द्वारीका पोखरेल रहेका छन्।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ साँगाबाट पक्राउ गरेको हो।
जिल्ला अदालत भक्तपुरको २०७१ वैशाख ७ गतेको फैसलाले उक्त बहुविवाह मुद्दामा पोखरेललाई १ वर्ष ६ महिना कैद सजाय र ६० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। अदालतको फैसलापछि फरार रहँदै आएका उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेस गरिएको प्रहरीले जनाएको छ।