Jun 21 2026 | २०८३, असार ७ गते
हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले विगत दुई वर्षदेखि बिदा दिन थालेको छ ।
दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फूलको तोरण तार्ने र स्नान गर्न आउने श्रद्धालु भक्तजनको विशेष ओइरो लाग्छ। मोक्ष प्राप्तिको आस्थाले छिमेकी जिल्ला स्याङ्जा र कास्की विभिन्न स्थानबाट पनि भक्तजन यहाँ आउने गर्दछन् । यसैगरी व्यासले पनि सोही अवसरमा बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आइतबार विज्ञप्ति प्रकाशित गरी आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यही कात्तिक २३ गते बसेको कार्यपालिकाको बैठकबाट हरिबोधनी एकादशीका दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए।
हरिबोधनी एकादशीको दिन जिल्लाका विभिन्न ठाउँमा ठूलो मेला लाग्ने गर्दछ । शुक्लागण्डकीको पुल्चोकस्थित सेती नदी किनार, कोत्रेस्थित सेती नदी किनार, भिमाद नगरपालिका र म्याग्देको सङ्गममा पर्ने दोभान, भिमादको भिमाद बजारस्थित सेती नदी, व्यास नगरपालिकाको देउरालीनगर, शिशाघाट, आँबुखैरेनीको आँधीमूलमा एकादशीका दिन मेला लाग्ने गरेको छ ।
आँधीमूलमा एकादशी मेला लाग्ने
आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले आज एकादशी मेला सञ्चालन गर्न लागिएको हो ।
कोरोना कहरका कारण गत वर्ष यहाँ मेला भर्न रोक लगाइएको थियो । एकादशी मेलाका दिन यहाँ हजारौंको सङ्ख्यामा भक्तजनको भीड लाग्ने वडाध्यक्ष किसान थापाले जानकारी दिए। पृथ्वीराजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ ।
आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।
गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।
कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेल्ने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरुपमा संस्कार ९काजक्रिया० गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ । मन्दिरका पुजारी युवराज मास्के मगरका अनुसार दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ । गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्यमध्येमा आँधीमूललाई राख्दै यसको विकासका लागि पनि चासो दिएको छ । रासस
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij