Jun 21 2026 | २०८३, असार ७ गते
सप्तरी । एकैपरिवारका तीन जनाको टिपरको ठक्करबाट मृत्यु भएपछि शोकमा बलान बिहुल गाउँपालिका–२ दिघियावासीको घरमा चुल्हो बलेको छैन ।
बिहीबार लहानमा टिपरले ठक्कर दिँदा बलान बिहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो ।
प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकलमा एकै परिवारका ४ जना चढेर घरतर्फ आउने क्रममा लहान–३ स्थित लहान–ठाडी सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१क २६२ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालले जानकारी दिए ।
उनका अनुसार तीन जनाको मृत्यु भएको र एक जना घाइते छन् । एकैपरिवारको तीन जनाको मृत्यु भएपछि चलेको परिवारको रुवाबासीले गाउँ नै शोकमा डुबेको स्थानीय कविता यादवले बताइन् ।
‘मृतक परिवारमा रूवाबासी चलेपछि शोकले गाउँमा कसैको चुल्हो बलेको छैन,’ उनले भनिन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij