Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ ।
पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पदीय हैसियतको दुरुपयोग गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गरेका हुन् ।
सचिव न्यौपानेले पर्यटन बोर्डको अध्यक्षका हैसियतमा यस्तो निर्णय लिएको जानकारी आफूले पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जानकारी दिए ।
यस्तो छ निलम्बनमा पर्नुको कारण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर उनी विवादित भएका थिए ।
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्ट (डब्लुटीएम)मा सहभागी भई नेपाल फर्कने क्रममा विमानस्थलको आगमन कक्षमा रेग्मी र विमानस्थल भन्सार कर्मचारीबीच विवाद भएको थियो ।
कार्यकारी प्रमुखले कर्मचारीमाथि हातपात गरेको भनी समाचार आएपछि उक्त घटना सामाजिक सञ्चालमा छाएको थियो। सोही विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले डा. रेग्मीलाई कात्तिक २२ गते मन्त्रालयमा बोलाएर विमानस्थलमा भएको घटनाबारे सोधेका थिए ।
दुवै पक्षसँग जानकारी लिएर बोर्डका कार्यकारी प्रमुख रेग्मीसँग स्पष्टीकरण माग गर्न मन्त्री आलेले पर्यटन सचिव तथा बोर्डका अध्यक्ष यादव कोइरालालाई निर्देशन दिएका थिए ।
बोर्डले त्यतिबेला विज्ञप्ति निकालेर सामान्य कुरालाई लिएर केही सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।
बोर्डका कार्यकारी प्रमुख डा. रेग्मी आगमन कक्षमा रहेको भन्सार जाँच गर्ने ठाउँमा आएको समयमा भन्सार जाँच पासमा खटिएका कर्मचारीको व्यवहार र ढिलासुस्तीको विषय उठाउँदा त्यसलाई अतिरञ्जित गरिएको दाबी गरिएको थियो ।
उक्त दिन भन्सार जाँचमा खटिएका विमानस्थल भन्सारका कर्मचारीसँग त्यहाँको अव्यवस्थालाई सुधार गरी जाँच छिटो गर्न आग्रह गर्दा सामान्य कुराकानीकै क्रममा सामान्य भनाभन भएको बोर्डले दाबी गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij