Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । गोदावरी नगरपालिका–१२ ठेचोमा प्रत्येक १२ वर्षमा मनाइने नवदुर्गा भवानी देवी नाच जात्रा तीव्र तयारी भइरहेको छ । साउन १० गते मंगलबार ‘गथां मुगः घण्टाकर्ण’ चतुदर्शीका दिन नवदुर्गाको मूल ढोकामा विधिवत् पूजा गरी ताल्चा लगाएपछि जात्रा सुरु हुन्छ ।
जात्राको पुर्वसन्ध्यामा श्री नवदुर्गा भवानी देवि गुठीले एक सूचना प्रकाशित गरे विभिन्न गतिविधिमा निषेध गरेको छ ।प्रकाशित सूचनामा नियम पालन नगरेको खण्डमा अनिष्ट भएमा आफूहरु जिम्मेवार नहुने जनाएको छ ।
यो जात्रा फागुनसम्म मनाइने र जात्रा अवधिभर २८ पूजा हुने समितिले जनाएको छ । १२ वर्ष जात्रामा ठेचो र सुनाकोठीबासीलाई भोज खुवाइन्छ । जात्रा प्रारम्भ भएसँगै ठेचोमा बाजागाजा, ताली, सिट्टी बजाउने, विवाह, व्रतबन्ध, वारव्यार, भोजभटेर, खुट्टा झुन्ड्याएर बस्ने, बास बसाल्ने गरी पाहुना सत्कार गर्न नहुने र राति ९ बजे देखि बिहान ४ बजेसम्म हिँडडुल नहुर्ने धार्मिक मान्यता छ ।
ऐतिहासिक एवं परम्परागत जात्राको लागि गोदावरी नगरपालिकाले ५० लाख विनियोजित गरेको छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जात्राको नियमबारे व्यापक जानकारी दिनुपर्ने बताए । मेयर महर्जनका अनुसार जात्रामा ठेचो र सुनाकोठीबासीलाई भोज खुवाउने भएकाले विभिन्न योजनाहरु बनाएमा भोजमा कुनै कमी कमजोरी नहुने बताए ।
यस्तै, वडा अध्यक्ष जगत बहादुर महर्जनले विभिन्न समिति गठन गरेर जात्राको लागि तयारी गरिरहेको बताए । उनले भने ‘राती कुनै आपत परेको बेला समितिमा सम्र्पक राख्न सकिन्छ ।’
जात्रा व्यवस्थापनका लागि प्रहरीबाट गर्नसक्ने सहयोगमा कुनै कमी नहुने ललितपुर प्रहरी वृत्त चापागाउँका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका घिमिरेले जानकारी दिए । उनले जात्राको बारेमा आवश्यक दिन मिल्ने सूचनाहरु दिन आग्रह गरे ।
यस्तै, श्री नव दुर्गा भवानी देवी गुठीका अध्यक्ष धर्मराज मालीले जात्रा अवधि भित्र सबैले नियम पालना गर्नमा अनुरोध गरे । उनले नियम पालना नगरी गाउँमा वा कुनै व्यक्ति माथि कुनै अनिष्ट भएमा नव दुर्गा भवानी देवी गुठी जिम्मेवारी हुने छैन ।
जात्राको लागि नगरपालिकाले ५० लाख विनियोजित गरेको रकम जात्रा अवधि भित्र सबै कार्य यस रकम बाट हुने र जात्राको लागि अझैँ २५–३० लाख जति नपुगेको अध्यक्ष मालीले बताए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij