Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले उनीहरूको राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताएका छन् ।
सत्रौँ गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले अहिलेको शासन व्यवस्थाले सबै नागरिकलाई समानताका अवसर प्रदान गरेकाले सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक पद्धतिबाट मुलुकको विकास तथा जनताको समृद्धि हासिल गर्न सकिने उल्लेख गरेका छन् ।
लोकतान्त्रिक आन्दोलनका लागि जीवनको बलिदान गर्ने सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले परिवर्तनको लाभ जनतासम्म पुर्याउन आवश्यक नीति तथा कानुनी व्यवस्थामा परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष नेपालले संविधानले कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गरेको उल्लेख गर्दै समाजवादोन्मुख व्यवस्थाको परिकल्पना गरेको बताए ।
समृद्ध राष्ट्र निर्माणका लागि समाजवादको कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले परिवर्तनकारी शक्तिहरूबीच सहकार्य, एकता र समन्वयको खाँचो औँल्याए । राज्यका सबै तहका साथै सम्पूर्ण नागरिकलाई लोकतान्त्रिक संस्कृतिको विकास गरी जनताको सामाजिक, आर्थिक रुपान्तरणका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने अध्यक्ष नेपालले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij