Jun 08 2026 | २०८३, जेठ २५ गते
म्याग्दी : अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष म्याग्दीमा मुख्य खाद्यान्नबालीको रुपमा लिइने धानको उत्पादनमा पाँच प्रतिशतले वृद्धि भएको छ । छ वटा स्थानीयतह रहेको म्याग्दीमा रोपिएको धान आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष ०८१/०८२ मा बढेको हो ।
चालु आर्थिक वर्षमा जिल्लाको तीन हजार आठ सय छ हेक्टर जमिनमा धान रोप्दा १३ हजार छ सय ६४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जि बाँस्तोलाले जानकारी दिनुभयो। यसवर्ष एक हेक्टर जमिनमा सरदर ३ दशमलव ५९ मेट्रिक टन धानको उत्पादकत्व रहेको छ ।
गत आर्थिक वर्ष २०८०र०८१ मा पनि तीन हजार ८ सय ६ हेक्टर क्षेत्रफलको जमिनमा धान खेती गर्दा १२ हजार नौ सय ७९ मेट्रिकटन मात्रै धान उत्पादन भएको थियो । गतवर्ष प्रति हेक्टर ३ दशमलव ४१ मेट्रिक टन धानको उत्पादकत्व रहेको थियो ।
त्यस्तै आर्थिक वर्ष ०७९/०८० मा तीन हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा कुल १२ हजार ५९ मेट्रिक टन मात्र धान उत्पादन भएको थियो ।
यस वर्षमा मौसम अनुकूल, समयमा रोपाइँ हुनु, रोग तथा किराको प्रकोप कम जस्ता कारणले गर्दा गत वर्षको तुलनामा यसवर्ष उत्पादनमा केही वृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रमार्फत जिल्लाको विभिन्न स्थानमा गरिएको धान बालीको ‘क्रप कटिङ’ विधिबाट धान उत्पादनको अवस्थाबारे अध्ययन गरी तथ्याङ्क तयार गरिएको थियो । म्याग्दीमा गौरिया, जेठोबुडो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २, गुडुरा, दर्माली, आङा कालो धान, झिनुवा जस्ता स्थानीय जातका धानहरु रोपिन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij