Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं : नेपाल लोकतान्त्रिक खेलकुद संघले अवैधानिक ढंगले निर्वाचन भएको नेपाल ओलम्पिक कमिटी एनओसी लाई कारबाही गर्न माग गरेको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले कानुन नमान्ने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेको हो। नेपाली खेलकुदका कार्यकारी निकाय युवा तथा खेलकुद मन्त्रालयका साथै राष्ट्रिय खेलकुद परिषद् राखेप ले पनि ओलम्पिक कमिटीको निर्वाचन अवैधानिक रहेको र उसलाई साथ दिने २७ संघलाई कारबाही गर्ने स्पष्ट पारिसकेको छ।
राखेपले ती संघलाई स्पष्टीकरणको पत्र पनि पठाइसकेको छ। लोकतान्त्रिक खेलकुद संघले पनि आइतबार पत्रकार सम्मेलन गर्दै अदालत र देशको कानुन नै लत्याउँदै एनओसीको निर्वाचन भएकाले कारबाही गर्नुपर्ने जनाएको हो।
लोकतान्त्रिक खेलकुद संघका महासचिव दीपक गुरुङले मन्त्रालय र खेलकुद परिषद्ले अदालतको आदेशअनुरूप निर्वाचन नगर्न निर्देशन दिए पनि एनओसीले बेवास्ता गर्दै निर्वाचन गरेको बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij