Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । गण्डकी प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका एक लाख १८ हजार सात सय ७४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ ।
खोप अभियानअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका तोकिएको उमेर समूहका किशोरीलाई आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप प्रदान गरिने भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले खोप अभियान सञ्चालनका लागि अहिले जिल्ला र स्थानीय तहमा पूर्वतयारीका काम भइहरेको जानकारी दिए।
खोप प्रदान गर्ने स्वाथ्यकर्मीसहित अन्य सरोकार भएका पक्षलाई अहिले अभिमुखीकरण कार्यक्रम सञ्चालन भइहरेको छ’, उनले भने, ‘उक्त खोपबाट १० देखि १४ वर्षसम्मका किशोरीहरू वञ्चित हुनु नपरोस् भनेर अहिले समुदाय स्तरमा प्रचारप्रसार र सचेतनाका कार्यक्रम पनि गरिरहेका छौँ ।
सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘एचपीभी’ खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेर यो खोपलाई नियमित खोप सेवाको रूपमा प्रदान गर्ने नीति लिए बमोजिम कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई लक्षित गरी खोप प्रदान गर्न लागिएको हो ।भविष्यमा पाठेघरको मुखको क्यान्सर हुनबाट किशोरीहरूलाई सुरक्षित गर्ने लक्ष्यसहित देशव्यापी रूपमा ‘एचपीभी’ खोप अभियान सञ्चालन हुन लागेको महानिर्देशक खड्काले बताए।
यो अभियान सम्पन्न भएपछि कक्षा ६ का छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई नियमित खोपका रूपमा यो खोप प्रदान गर्ने सरकारको नीति रहेको उनको भनाइ छ । उनका अनुसार बागलुङमा ११ हजार पाँच सय ५५ जना किशोरीहरूलाई खोप प्रदान गर्ने लक्ष्य छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij