Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । भक्तपुरका नेवार समुदायले आज माघे सङ्क्रान्तिका अवसरमा सम्यक महादान पर्व मनाउँदैछन् । सो समुदायमा हाम्ह सँलु अर्थात् तिल सङ्क्रान्तिका रूपमा परिचित माघे सङ्क्रान्तिमा हरेक वर्ष मनाइने सम्यकदान पर्व बौद्ध धर्मावलम्बीहरूले ऐतिहासिक एवं सांस्कृतिक रूपले हर्षोल्लासका साथ मनाइने एक मौलिक पर्व हो ।
दायाँ हातले अभय वरदान दिने र बायाँ हातले चीबर समातिरहेको मुद्रामा बसेका विभिन्न स्वरुपका पाँच दीपङ्कर बुद्ध, विभिन्न विहारका गुरु र पुरोहितलाई आ–आफ्नो मनोकाङ्क्षा पूरा हुने अपेक्षासहित सर्वसाधारणले गरिने दान नै सम्यक महादान पर्व हो । सम्यक महादानका लागि भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौ, चतब्र्रम्ह महाविहार साकोथा, मङ्गल धर्मदीप विहार गोल्मढी, जयकीर्ति महाविहार थथुवहि दूधपाती र बौद्ध समकृत विहार भार्वाचो गरी पाँच दीपङ्कर बुद्ध एवं प्रशन्नशील महाविहारका क्वाचपालदेवता, सम्यक दानदाताको कूलदेवता, थासंद्यो सुवर्ण चैत्य, चार लुँद्यो सुवर्ण दीपङ्करहरू तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकीर्ति महाविहार ९थिमि०का उपाध्याय गुरुजु एवं मुलपूरोहित गुरुजुलाई भक्तपुर जयकीर्ति महाविहार थथुवहीस्थित भुइँख्यल क्षेत्र अर्थात् दूधपाटीस्थित नःपुखु परिसरमा जम्मा गरिन्छ ।
सम्यक महादानमा चतुब्र्रम्ह महाविहार सङ्घका कूलदेवता श्री हेबज्र नैरात्मालाई सबभन्दा पहिले भोजन दान गरिने परम्परा छ । यसपछि लहरै मूल दीपङ्कर, बाहाछे दीपङ्कर, झौरबही दीपङ्कर, थथुबही दीपङ्कर र कुथुबहि दीपङ्करलाई भोजन चढाउने गरिन्छ । सँगै क्रमबद्ध रूपमा विराजमान गराइएका चारवटा सम्यक द्यो सुवर्ण दीपङ्करको मूर्ति, सुवर्ण चैत्य, स्थवीर आजु, मूल गुरुजु, गुरुजुहरू त्यससँगै लामबद्ध भएर बसेका सयौँ बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरूलाई सम्यक दान दिने परम्परा छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij