Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । सिन्धुलीमा ४१ तोला सुनसहित एकजना पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा ४१ तोला बढी अवैध काँचो सुनसहित एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
बर्दिवासबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५५४० नम्बरको फोर्स गाडीबाट ४१ दशमलव ३५ तोला काँचो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उक्त गाडीमा सवार पर्सा जिल्ला पोखरिया नगरपालिका–८, जगतपुरका ४८ वर्षीय बिक्रम साहको कालो रंगको झोलाभित्र कपडाले बेरिएको अवस्थामा बिल बीजक नभएको ४१ दशमलब ३५ तोला काँचो सुनसहित विभिन्न गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।
उनका अनुसार बरामद भएको सुनको मुल्य ६४ लाख ६१ हजार ९ सय ८२ रुपैयाँ रहेको छ। विशेष सूचनाका आधारमा भिमान चेकपोस्ट चेकजाँच गर्दा साहको साथबाट औठी ७३ थान, मंगलसुत्र पाँच थान, झुम्का–टप छ थान, बाला एक थान, नेकलेस एक थान, हिरा जस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो सानो पोकामा बाह्र थान, मोबाइल एक थान र १९ हजार नगद समेत प्रहरीले बरामद गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij