Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडाैं । पछिल्लो समय रौतहटको वन क्षेत्रमा चोरी शिकारी बढेको स्थानीय बासिन्दाले बताएका छन् । वन क्षेत्रको सुरक्षामा कमी, वन संरक्षणका लागि आवश्यक जनशक्तिको अभाव, तथा प्रभावकारी नीति तथा कार्यान्वयनको कमीले चोरी शिकारी बढेको हो।
जिल्लाको वृन्दावन सबडिभिजन वन कार्यालयअन्तर्गतको जंगलमा अन्दाजी १० देखि १२ वर्ष उमेरको एक चितुवा मृत अवस्थामा फेला परेको छ। सोमबार साँझ स्थानीयले कुलोमा बगेर गाउँ नजिकै आएको चितुवाको शव देखेपछि वन कार्यालयलाई खबर गरेका थिए।
चितुवालाई वृन्दावन सबडिभिजन वन कार्यालयमा ल्याएर स्थानीय प्रशासन र जनप्रतिनिधिको रोहबरमा खाडल खनेर गाडिएको छ। वन कार्यालयका फरेष्टर जयप्रकाश साहका अनुसार चितुवा मृत अवस्थामा फेला परेको र यसको मृत्युका कारणबारे विभिन्न अड्कलबाजी गरिएको छ। मृत चितुवाको मुखबाट रगत बगेको देखिएपछि स्थानीय बासिन्दाले चितुवा शिकारीको शिकार हुन सक्ने आशंका गरेका छन् ।
यद्यपि यसबारे औपचारिक पुष्टि हुन सकेको छैन। डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत रामगणेश साहले भने, ‘चितुवाको मृत्यु प्राकृतिक कारणले भएको दाबी गरेका छन्।’ उनका अनुसार शिकारीले मारेको भए गोली अथवा प्रहारको कारण चोट वा घाउ देखिनुपर्ने थियो तर यस्तो कुनै प्रमाण भेटिएको छैन।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij