Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको भवानीपुर जीतपुरका तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानि नोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविकको आदर्श गाविस भवानीपुर जीतपुर, बारा हाल जीतपुरसिमरा उपमहानगरपालिका का तत्कालीन सचिवले विभिन्न आर्थिक वर्षमा गाविसमा विनियोजन भएको रकम हिनामिना गरी अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा अन्सारीले गुदरी बजार र मीना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा अपनाएको विधि पारदर्शी नभएको खुलेको थियो । साथै उनले सटर उपलब्ध गराउँदा लिएको धरौटी बापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाई बरबुझारथ समेत नगरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij