Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो।
पक्राउ गरिएका अभियुक्तबाट झण्डै गाँजा तीन दशमलव ६७ किलोग्राम, खैरो हिरोइन सात सय २० दशमलव ८० ग्राम, ट्रमाडोल सात हजार दुई सय ३७ ट्याबलेट, एन्टिकफलगायत ट्याबलेट बरामद गरिएको उहाँले जानकारी दिनुभयो । प्रहरीले लागुऔषधसहित मानिस नियन्त्रणमा लिने गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार छ महिनामा जिल्ला अदालत झापामा एक सय ५१ वटा लागुऔषधका मुद्दा दर्ता भइसकेको छ । लागुऔषधको कारोबार हुने जिल्लाका विभिन्न स्थान र सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रवक्ता चन्दले बताउनुभयो ।
यसैगरी प्रहरीले छ महिनामा एक सय ४८ जना फरार प्रतिवादी पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । प्रवक्ता चन्दका अनुसार जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको रु. एक करोड ६१ लाख १० हजार सात सय २२ मूल्य बराबरका सामान बरामद गरी मेची भन्सार कार्यालयमा बुझाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij