Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । पूर्वाधार विस्तारका कारण राति १० बजेदेखि बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार (१९, माघ) देखि राति ११ बजेपछि बन्द भई बिहान ७ बजे खुला हुने भएको छ ।
अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी, ह्यागंर निर्माण लगायतका पूर्वाधार विस्तारका कामका लागि धावनमार्ग नै बन्द गर्नुपर्ने भएपछि कार्तिक २३ गतेदेखि काठमाडौं विमानस्थलमा राति १० बजेदेखि उडानहरु बन्द गरेर निर्माण कार्य भइरहेका थिए ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गतेसम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान रोकेर काम गर्न नोटाम निकालेर विमानस्थलभित्र तीनवटा फरक-फरक आयोजनाको काम गराउँदै आएको थियो । सिनामंगलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक ईन्जिनियर दिपेन्द्र श्रेष्ठका अनुसार दैनिक १० घन्टा उडान बन्द गरेर रनवेसँग जोडिएका जटिल कामको निर्माण सकिएसंगै पूर्वाधार विस्तारको समय १० घन्टाबाट घटाएर ८ घन्टामा झारिएको छ ।
‘धावनमार्गसंगै जोडिएका मुख्य जटिल काम सम्पन्न भएका छन्’, आयोजना निर्देशक श्रेष्ठले भने, ‘अब दुई घन्टा उडानको समय थपिएको छ ।’ उनका अनुसार विमानस्थलभित्र संचालित तीनवटै आयोजनाको ४० प्रतिशत भौतिक कार्य सकिएको छ । सन् २०२६ पछि वार्षिक झण्डै १ करोड यात्रुलाई सेवा दिने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घन्टा उडान रोकेर तथा त्यसपछि दिनमा उडान नरोकेर पूर्वाधार विस्तारका काम हुँदै आएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij