Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । कल बाइपास गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका-८ नोडिहवाका २७ वर्षीय रोहित अहिर रहेका छन् । अहिलाई प्रहरीले बुधबार बेलुका रुपन्देही सिद्धार्थनगर नगरपालिका-३ खजहनाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकृत प्रहरी निरीक्षक यमलाल बन्जाडेका अनुसार कोठा भाडामा लिएर कल बाइपास सञ्चालन गरिरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।
बन्जाडेका अनुसार अहिरले विभिन्न उपकरण जडान गरी नेपाल टेलिकम र एनसेलको सिमकार्डमार्फत बल बाइपास गरेको देखिएको छ ।
यसक्रममा प्रहरीले स्पोइलर कम्पनी हब ९ थान, सिपियु ४ थान, मोडेम १६७ थान, हब विथ एन्टेन्ना २ थान, नेपाल टेलिकमको १९० थान सिम, एनसेल सिमकार्ड २७० थान बरामद गरेको छ ।
यस्तै, एलसिडी मनिटर १ थान, मोबाइल ५ थान, ल्यापटप १ थान, वर्डलिंक राउटर, स्वीच, नेटवर्क भिडिओ रेकर्डर, हब केबल्सलगायत सामान बरामद भएको प्रहरी निरीक्षक बन्जाडेले बताए ।अहिरलाई शुक्रबार कल बाइपास कसुरमा रुपन्देही अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
कल बाइपास दुई किसिमका हुन्छन्, भिओआइपी र जिओआइपी । जिएसएम ओभर इन्टरनेट प्रोटोकल (जिओआइपी) र भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भिओआइपी) दुई किसिमबाट कल बाइपास हुने गरेको छ ।
कल बाइपासको नेटवर्क अन्तर्राष्ट्रिय तह हुँदै नेपालसम्म आइपुगेको हो । प्रहरीका अनुसार विदेशबाट नेपाल आउने नेटवर्क सर्भरलाई बीचबाटै डाइभर्ट गरी कल बाइपास गरिन्छ ।
कल बाइपास गर्दा टेलिकमले पाउने राजश्व गिरोहले बीचबाटै गायब पार्ने हुनाले सेवा प्रदायक कम्पनीलाई सिधै नोक्सान पुग्छ ।
अहिरले कुन किसिमको कल बाइपास गरेका हुन् प्रहरीले यकिन गर्न सकेन । ‘हामीले नेपाल टेलिकम र एनसेल दुबैका विज्ञ प्राविधिकसँग परामर्श गरिरहेका छौं,’ बन्जाडेले भने, ‘कल बाइपासबाट के कति नोक्सान भएको हो भन्ने विवरणको लेखाजोखा हुन बाँकी छ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij