
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पीडित महिलाको निजी तस्बिर तथा भिडियोहरू म्यासेन्जर कुराकानीकै क्रममा स्क्रिन रेकर्डमार्फत संकलन गरी, ती सामग्रीहरू नक्कली (फेक) फेसबुक खाताबाट पीडितका परिवार सदस्यहरूलाई पठाएर मानसिक, सामाजिक र पारिवारिक क्षति पुर्याएको घटनामा एक युवक पक्राउ परेका हुन् ।
प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट भारतको बिहार राज्य, बेतिया जिल्ला सरिसो बजार, सुनलपट्टी स्थायी ठेगाना भएका २० वर्षीय अम्मरनाथ कुमार घटनामा संलग्न रहेको पुष्टि भएपछि उनलाई मिति २०८२ असार ६ गते धादिङको धुनिवेशी नगरपालिका -८, खानी खोलाबाट पक्राउ गरिएको हो ।
अम्मरनाथ कुमारले पीडितलाई थाहा नदिई अश्लील तस्बिर तथा भिडियोहरू संकलन गरी सामाजिक सञ्जालमा गम्भीर किसिमले दुरुपयोग गरेको पुष्टि भएको साइबर ब्यूरोले जनाएको छ ।
निज उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको साइबर ब्यूरोले जनाएको छ । सामाजिक सञ्जालको दुरुपयोगविरुद्ध कानुनी कठोरता अपनाइने प्रहरीले स्पष्ट पारेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij