Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बिहीबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले संगठन विस्तार, विधायकी स्वतन्त्रताको रक्षा र रुपन्देही–३ उपनिर्वाचन तयारीसहित विविध ६ निर्णय गरेको छ। बैठकले प्रमीला भुसाल (चितवन), सुशील अधिकारी (दाङ) र मानकुमार लामा (चितवन) लाई पार्टीको संगठन विभागमा सदस्यका रूपमा मनोनीत गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।
बैठकमा पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणसम्बन्धी पार्टीको अडान कायमै राख्दै, सो विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग पुनः दोहोर्याइएको छ। पार्टीले संसदमा भइरहेका प्रतिरोध कायमै राख्ने निर्णय पनि गरेको छ।
त्यस्तै, राज्य व्यवस्था समितिबाट पारित भई प्रतिनिधिसभामा प्रवेश गरेको संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको हेरफेरप्रति पार्टीले आपत्ति जनाएको छ।
पार्टीका अनुसार विधायकी स्वतन्त्रतामाथि प्रहार गर्ने गरी गरिएको बदमासीपूर्ण संशोधन संविधानको मर्मविपरीत छ। त्यसमाथि छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग बैठकले राखेको छ।
रुपन्देही क्षेत्र नं.३ को आगामी कात्तिक २७ गते हुने उपनिर्वाचनमा पार्टीले योग्य र जनचाहना अनुरूपको उम्मेदवार चयन गर्ने निर्णय गरेको छ। बैठकमा उम्मेदवार छनोट कार्यविधि बारे गम्भीर छलफल भएको र प्राप्त सुझावहरू लाई समेट्दै आगामी आइतबार बस्ने सचिवालय बैठकमा अन्तिम कार्यविधि प्रस्तुत गरिने प्रवक्ता झाले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij