
Jul 04 2025 | २०८२, असार २० गते
काठमाडौं । अविरल वर्षाका कारण अछामको रामारोशन गाउँपालिका–२, मुजाबगरस्थित जयगढ–शान्तडा भित्री कच्ची सडक खण्डमा ठुलो पहिरो खसेको छ । आज बिहान करिब ७:०० बजे आएको पहिरोले करिब ५० मिटर सडक खण्ड पूर्वरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
सडक माथिबाट रुख, ढुङ्गा र माटोसहित खसेको पहिरोका कारण सोही ठाउँका अम्मर रावलको दुई तले चार कोठे ढुङ्गा–माटोले बनेको घर समेत उच्च जोखिममा परेको छ ।
सडक अवरोध हटाउने कार्यमा प्रहरी नायब निरीक्षक गणेश बहादुर चन्दको कमान्डमा तीन जना सुरक्षाकर्मीको टोली खटिएको प्रहरीले जनाएको छ । हाल सडक खुलाउने प्रयास भइरहेको छ ।
प्रहरीले जोखिमयुक्त क्षेत्रमा जान नदिन तथा सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ । निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij