
Jul 04 2025 | २०८२, असार २० गते
काठमाडौं । हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको विद्युतीय गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो म.प्र.०३-००१ ज ०५५१ नं.को ईभी गाडी इन्द्रसरोवर गाउँपालिका-२ रातमाटेस्थित घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर सडकबाट १५ मिटर तल पुगेको थियो ।
गाडीमा सवार १० जनामध्ये ५ घाइते भएको तीमध्ये तीन जना गम्भीर घाइते रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
गम्भीर अवस्था रहेका घाइतेहरुमा पर्साको जिराभवानी गाउँपालिका– ३ का ३५ वर्षीय चन्द्रसन्जु गौर, भारतको बिहारका ३९ वर्षीय रिसाहद कुमार र बिहारकै ३५ वर्षीय उमा शंकर कुमार छन् ।
दुर्घटनामा घाइते भएका बिहारका २७ वर्षीय जताशंकर कुमार र ५० वर्षीय राकेश कुमारको अवस्था सामान्य रहेको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको प्रवक्ता अर्यालले जानकारी दिए ।
प्रहरीले इभी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिसकेको जनाएको छ । गाडीमा चालकसहित १० जना सवार थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij