
Jul 20 2025 | २०८२, साउन ४ गते
काठमाडौं । वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध छ । नेपाल प्रहरीकाअनुसार मेची, मध्यपहाडी, कालीगण्डकी करिडोर, सहिद, महाकाली राजमार्गलगायत सडक अवरुद्ध छ ।
पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध भएको छ । गए राति करिब १२ बजे फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आई ‘डाइभर्सन’ बगाउँदा मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पाँचथरमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध छ । याङवरक गाउँपालिका–३, रिजालभीरस्थित सडकमा पहिरो खस्दा बाटो पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बागलुङको बागलुङ नगरपालिका–१०, डब्ल्याङस्थित कालीगण्डकी करिडोर अवरुद्ध छ । आइतबार बिहान करिब पौने ६ बजे उक्त स्थानस्थित सडकमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–८ मा महाकाली राजमार्ग अवरुद्ध भएको छ । दशरथचन्द–८ स्थित महाकाली राजमार्गअन्तर्गत बैतडी–झुलाघाट सडकखण्डमा माथिबाट सुक्खा पहिरो खसेर बाटो पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij