Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रामेछापले अपाङ्गता भएर सदरमुकाम आउन नसक्ने नागरिकहरूलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरेको छ।
‘कुनै पनि नेपाली नागरिक सेवा पाउनबाट बञ्चित हुनु हुँदैन’ भन्ने भावना
सहित अभियानकै रूपमा सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जनसेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यालयले रामेछाप नगरपालिका–७ सुकाजोरका टिकाबहादुर खत्रीलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको बताइएको छ।
जन्मजात अपाङ्गता भएका खत्री उठ्न बस्न सक्दैनन्। उनको हेरचाहका लागि सधैँ आमा उषा माया बस्नेतको साथ चाहिन्छ। कार्यालयले स्थानीय तहसँग समन्वय गरी पहिचान गरिएका नागरिकहरूसम्म पुगेर नागरिकता वितरण गरेको हो। खत्रीलाई प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा गएको टोलीले वडा अध्यक्ष समीर कार्कीको उपस्थितिमा नागरिकता दिएको थियो।
‘राज्यका सेवा सबै नागरिकसम्म पुर्याउनु हाम्रो कर्तव्य हो। अपाङ्गता भएका नागरिकहरूका लागि नागरिकता प्राप्ति प्रक्रियालाई सहज बनाउन हामी घरमै पुग्यौं।’ प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘जिल्लाका जुनसुकै स्थानमा भए पनि यदि कोही नागरिक सदरमुकाम आउन असमर्थ हुनुहुन्छ भने हामी स्वयम् घरमै पुगेर नागरिकता दिन तयार छौँ।’
यसैक्रममा जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण पनि वडा तहमै पुर्याउन थालेको छ। थुप्रै नागरिकले परिचयपत्र लिन कार्यालयसम्म आउन नसक्दा सयौँ डिजिटल कार्डहरू वितरण बिनै थन्किएर बसेका थिए। अब ती कार्डहरू वडामा पुगी वितरण गर्ने र परिचयपत्र बनाउन रहेकाको तस्बिर खिची परिचयपत्र बनाउने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij