Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । नेपालकै नमूना सामुदायिक क्याम्पस बुटवल कालिका क्याम्पसले विश्व विद्यालय अनुदान आयोग नेपाल बाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ।
स्थापनाको सबै भन्दा छोटो अवधिमा क्युएए प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पस बन्न सफल भएको हो।
वि.सं. २०७० मा त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरी सालमा स्थापना भएको क्याम्पसले १२ वर्षमा क्युएए प्रमाणपत्र प्राप्त गरेको हो ।
प्रमाणपत्र हस्तान्तरण विश्वविद्यालय अनुदान आयोगको कार्यालय भक्तपुरले गरेको हो। आयोगका अध्यक्षप्रा.डा. देवराज अधिकारीको अध्यक्षता, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिप्रा.डा. दीपक अर्यालको प्रमुख आतिथ्यता रहेको थियो।
आफैँ क्याम्पसमा पुगेर अध्ययन गरेको अनुभव सुनाउँदै आयोग अध्यक्ष देवराज अधिकारीले भने, ‘भौतिक, शैक्षिक र गुणस्तरका दृष्टिले सम्बन्धनप्राप्त सामुदायिक क्याम्पसहरूमा कालिका क्याम्पस निकै उत्कृष्ट देखियो । निरन्तर प्रगतिका लागि क्याम्पसलाई शुभकामना व्यक्त गर्दछु।’अधिकारीका अनुसार क्याम्पसको क्युएए प्रक्रियाको मूल्यांकन प्रा.डा. श्री कृष्ण श्रेष्ठको नेतृत्वमा विज्ञ टोलीले गरेको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष होम बहादुर गलामीले क्युएए प्राप्तिले क्याम्पसको निम्ति ठुलो उपलब्धि भएको बताए । यसले क्याम्पस लाई शिक्षा क्षेत्रमा थप सशक्त बनाएर अगाडि बढ्न प्रेरणा दिएको बताए ।
यस्तै क्याम्पस प्रमुख घनश्याम पाठकले गुणस्तर अभिवृद्धिको यात्रा लाई क्युएए प्रमाणपत्रले थप हौसाला दिएको बताए । समुदायिक क्पाम्पस प्रतिको धारणा र सक्षमता बढाउन सबैले निरन्तर मेहनतले गर्ने हो शिक्षा क्षेत्रमा अझै प्रगति गर्न सकिने क्याम्पस प्रमुख पाठकले बताए ।
हाल कालिका क्याम्पसमा करिब ४ हजार विद्यार्थी अध्ययनरत छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij