
Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस वर्षको दशैँ-तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताएका छन् । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले चाडपर्वका बेला यात्रुलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको जानकारी दिए ।
मन्त्री दाहालले इन्धनको मूल्यअनुसार भाडा घटाउने-बढाउने व्यवस्था भए पनि यस वर्ष भाडा नबढाउन यातायात व्यवसायीहरूसँग आग्रह गरिएको बताएका छन् । यदि यातायात व्यवसायीका केही समस्या भए छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको उनको भनाइ छ ।
उनले प्रदेशस्तरमा रहेका सडक आयोजनाहरू प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने उद्देश्य रहेको पनि बताए । हाल करिब ३२ हजार किलोमिटर सडक संघीय मन्त्रालयको मातहतमा रहेको र तीमध्ये धेरै सडक प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
यसमा निर्माणाधीन सडक र ज्यालादारी कामदारसमेत प्रदेश सरकारको जिम्मामा दिने तयारी भइरहेको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij