Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु

  • काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको मृत्यु भएको छ । पतवारी निवासी ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी -बर्दघाट सुस्तापूर्वका सूचना अधिकारी छविलाल सुवेदीले बताए ।

    onlinepatrika
    Arghakhachi

    “जिल्लामा चालु आर्थिक वर्षमा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमध्ये एक जनाको निधन भएको छ”, उनले भने, “बाँकी तीन जना उपचारपछि घर फर्कनुभएको छ ।”

    AGNI GROUP

    साउन महिनामा मात्र जिल्लामा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको हो । बिरामीमध्ये तीन जना कावासोती नगरपालिकाका रहेका छन् । जसमध्ये वडा नं १ की ४४ वर्षीया महिला, वडा नं ३ की ८३ वर्षीया महिला र वडा नं ६ का ५२ वर्षीय पुरुष रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले बताए ।

    “तीन जना सङ्क्रमितहरू उपचारपछि घर जानुभएको छ । सङ्क्रमितहरूको घरपरिवारको लक्षण भए/नभए निगरानी गरिएको छ”, उनले भने, “सङ्क्रमितहरूको घरपरिवारमध्ये पाँच जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ  पठाएका छौं ।”

    जिल्लामा पछिल्लो वर्ष जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यसको लक्षण देखिएका बिरामीहरूको नमूना सङ्कलन गरी परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको ल्याब टेक्निसियन तिवारीले जानकारी दिए । “मध्यविन्दु प्रादेशिक अस्पताल डण्डाबाट एक, विनयी त्रिवेणी आधारभूत अस्पतालबाट एक र सङ्क्रमितको घरपरिवारका सदस्यहरू पाँच जना गरी सात जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि टेकु लगिएको छ”, उनले भने ।

    नवलपरासीमा आर्थिक वर्ष २०७९/८० मा सात जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ ।

    त्यसैगरी, आर्थिक वर्ष २०८०र८१ मा आठ जनामा सङ्क्रमण भएकामध्ये एक जनाको मृत्यु भएको थियो भने गत आव २०८१/८२ मा दुई जनामा सङ्क्रमण भएकामध्ये दुवै जना उपचारपछि निको भएका थिए ।

    जिल्लामा चालु आवको सुरुआतसँगै रोग देखिएपछि स्थानीय तहमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्न थालिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख शैलेन्द्रकुमार सिंहले बताए ।

    “जापानिज इन्सेफ्लाइटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो, यी लामखुट्टेहरू मध्यम आकारका, खैरो रङको र पेटतिर भने सेतो चिह्नहरू भएका हुन्छन्, तिनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन”, उहाँले भन्नुभयो, “विशेषगरी धान बालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान हो, साउन, भदौ र असोजमा जापानिज इन्सेफ्लाइटिस बढी देखिने गर्दछ ।”

    यस रोगबाट धेरै व्यक्तिहरू गम्भीर बिरामी नहुने गरे पनि केहीको गम्भीर अवस्था सृजना भई दिमागलाई नै असर गरी मृत्यु हुने गरेको प्रमुख सिंहले बताउनुभयो । “यस रोग लाग्दा धेरैजसोलाई  ज्वरो, झाडापखाला, बान्ता, थकित हुने, गर्दन दुख्ने, घाँटी दरो हुने, टाउको दुखाइ वा कमजोरी देखिन्छ,” उनले भने, “यस रोगका खतराका लक्षणहरू छारे रोग, प्यारालाइसिस र अचेत हुनु पनि रहेको छ ।”

    विश्वभर प्रत्येक वर्ष ५० हजारभन्दा बढी जापानिज इन्सेफ्लाइटिसस सङ्क्रमित हुने गरेको तथ्याङ्क रहेको छ । जसमध्ये १० देखि १५ हजार सङ्क्रमितको ज्यान समेत जाने गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij