Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्पत्ति अधिकार संरक्षण र लोप हुन लागेको राष्ट्रिय सम्पदाको अन्तर्राष्ट्रिय स्तरमा दाबी गर्न हुलाक टिकटको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
मंगलबार सरदार भीमबहादुर पाँडेको तस्बिर अंकित हुलाक टिकटमा टाँचा प्रदान गर्दै मन्त्री गुरुङले देशमा लोप हुन लागेका रैथाने बालीनाली, वनस्पति, जनावर तथा पशुपंक्षीहरुको संरक्षणका लागि हुलाक टिकट प्रकाशन गरिने जानकारी दिएका छन् ।
सञ्चारमन्त्रीले बासमती धान नेपालको रैथानी बाली भए पनि यसको प्याटन राइट्स भारतले लिएको र त्यसबाट हुने लाभ नेपालले नपाउने बताए ।
मन्त्री गुरुङले देशका योगदान दिने व्यक्तिहरूको सम्झनामा पनि हुलाक टिकट छापिने बताए । विभिन्न मोर्चा—कूटनीतिक, प्रशासनिक वा लडाईंमा देश र जनताको पक्षमा योगदान दिने व्यक्तिहरूको तस्बिर अंकित टिकट प्रकाशन गरिने छ ।
सरदार भीमबहादुर पाँडे कालु पाँडेका छैटौँ पुस्ताका वंशज हुन् । उनी कुशल प्रशासक, अर्थशास्त्री तथा लेखकसमेत थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०८१ चैत्र १७ गते पनि उनलाई समर्पित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । हुलाक सेवा विभागले १० रुपैयाँ दरको टिकट सार्वजनिक गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij