Jun 19 2026 | २०८३, असार ५ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि असार २६ गतेसम्म हरेक शुक्रबार र शनिबार टोलटोलमा फिल्म महोत्सव गर्ने भएको छ । सार्वजनिक स्थल, पार्क, डवली, चोकहरूमा सर्ट फिल्म प्रदर्शन, चलचित्र, कला तथा रचनात्मक उद्योगलगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम हुनेछन् ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार समुदायमा भएका रचनात्मक सिपलाई उद्यम र उद्योगको विकासका लागि काम थालिएको बताएकी छन् ।
नियमित रुपमा फिल्म महोत्सव आयोजना गर्ने निफ, किम्फ, मानव अधिकार फिल्म फेस्टिभललगायत कार्यक्रमका आयोजक, चलचित्र क्षेत्रसँग सम्बन्धित संघसंस्था र पेशाकर्मीसँगको सहकार्यमा महोत्सव सुरु भएको हो ।
महानगरपालिकाले आउँदो आर्थिक वर्षमा आयोजना गर्ने लक्ष्य राखेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुग्ने गरी टोलटोलमा फिल्म महोत्सवको कार्यक्रम सुरु गरिएको डंगोलले बताइन् ।
महोत्सव असार महिनामा आठ ठाउँमा आयोजना हुनेछ । जुन ठाउँमा कार्यक्रम आयोजना हुने हो, त्यही ठाउँको स्थानीय संस्थालाई व्यवस्थापनको जिम्मेवारी दिइनेछ । यसका लागि सार्वजनिक सूचनाबाट आठवटा संस्था सूचीकृत र तीनवटा संस्थालाई वैकल्पिक सूचीमा छनोट गरिएको छ ।
काठमाडौं महानगरपालिकाले २०८० कात्तिक १४ गते युनेस्को क्रियटिभ सिटिज नेटवर्कमा फिल्म विधाबाट सदस्यता प्राप्त गरेपछि रचनात्मक उद्यमसँग जोडेर फिल्मसँग सम्बन्धित काम थालिएको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij