Jun 16 2026 | २०८३, असार २ गते
काठमाण्डौ/ कमल थापाले नयाँ पार्टी जन्माउने साइत जुराएका छन् । फागुन १ गते आइतवार एक विज्ञप्ती जारी गर्दै उनले पार्टी जन्माउने साइतको घोषणा गरेका हुन् । राप्रपाको अध्यक्षमा पराजित भएपछि विक्षिप्त बनेका थापाले यही फागुन ७ गते नयाँ पार्टी राप्रपा नेपाल जन्माउन लागेका हुन् ।
थापाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै राप्रपा, नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको बताए। आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुने समेत अध्यक्ष थापाले विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘आगामी स्थानीय तहको निर्वाचनमा हामी सक्रियताका साथ सहभागी हुनेछौँ’, अध्यक्ष थापाले विज्ञप्तिमा भनेका छन्, ‘राप्रपा नेपालको घोषणासभा २०७८ साल फागुन ७ गते काठमाडौंमा हुनेछ।’
थापाले केही समयको अलमलपछि फेरि आफ्नै घरमा फर्किएको दाबी गरेका छन्। ‘देशको धरातलीय यथार्थ एवम् सहयोगी तथा शुभचिन्तक साथीहरुको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ’, अध्यक्ष थापाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ,‘केही समयको अलमलपछि फेरि हामी आफ्नो घर फर्केका छौँ।’
राप्रपा नेपाललाई जीवन्त तुल्याउने नेता लाक्पा तामाङलाई धन्यवाद दिएका छन्। थापाले पाँच वर्षपछि आफूहरुलाई नियतले सही ठाउँमा पुर्याएको दाबीसमेत गरेका छन्। थापाले विज्ञप्तिमा विगतका गल्ती र कमजोरीबाट पाठ सिक्दै एक पटक गन्तव्यतर्फ अग्रसर भएको उल्लेख गरेका छन्। ‘विगतका त्रुटी, कमजोरीबाट पाठ सिकेर तथा गल्तीहरु सच्याएर फेरि एकपटक आफ्नो गन्तव्यतर्फ अग्रसर रहने अवसर हामीले पाएका छौँ’, थापाले भने।
थापाले राप्रपा नेपालको विरासतलाई निरन्तरता दिँदै अबदेखि ‘हिन्दू राष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मुल एजेण्डा हुने उल्लेख गरेका छन्। जनताको भावना र देशको धरातलीय यथार्थलाई दृष्टिगत गर्दै केही मान्यता, प्राथमिकता र कार्यनीतिमा समायानुकुल परिमार्जन गरेको उनको भनाइ छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij