Jun 22 2026 | २०८३, असार ८ गते
काठमाण्डौं/ पठाओले चालक र सेवाग्राही दुवैको बीमा सुरु गरेको छ । पछिल्लो सयम वैकल्पिक सार्वजनिक यातायात कम्पनीको रुपमा आएको पठाओले एभरेष्ट इन्स्योरेन्ससँगको समन्वयमा राइड सेयरिङ बीमा सुरु गरेको हो । पठाओले सेवा समयमा हुने जोखिम न्युनिकरणका लागि राइडर र सेवाग्राही दुवैको राइड समयको दुर्घटना बीमा सुरु गरेको हो ।
राइडर (चालक) र सेवाग्राही दुवैको सुनिश्चित र सुरक्षित राइडको अनुभव दिने उद्देश्यले ‘राइड सेयरिङ वीमा’ सुरु गरेको जनाएको छ। पठाओ नेपाल प्रालिका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले भने, 'मोबाइल एपमार्फत राइड रिक्वेस्ट नगरी अफलाइन यात्रा गर्दा भने बीमा माग दाबी गर्न मिल्ने छैन । बीमा दावी गर्नका लागि अनलाइन राइड अनिवार्य छ।'
पठाओ एपमार्फत सहजीकरण गरि उपलब्ध सेवाहरु प्रयोग गर्ने सेवाग्राही तथा राइडर (चालक)हरुको १ लाखसम्मको दुर्घटना उपचार बीमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा ५ लाखसम्म बीमा दाबी गर्न सकिन्छ । दुर्घटना भएर उपचारको क्रममा मृत्यु भएमा ६ लाख सम्मको बीमा दावी गर्न सकिने बस्न्यात बताउँछन् ।
सेवाग्राहीले राइड सेयरिङ बीमा दाबी गर्न आफ्नै पठाओ अकाउन्टबाटै राइड बुक गरेको हुनुपर्ने, ब्यक्तिगत जानकारी सहि हुनुपर्ने र यात्रा सुरु गर्नुपूर्व राइडरको सवारी नम्बर र सवारीको मोडल पठाओ एपमा दर्ता भए बमोजिम छ कि छैन जाँच गरेर मात्र सवारी लिनुपर्ने शर्त राखिएको छ ।
त्यसैगरी सेवाग्राही र राइडरको पठाओ एपमा ब्याक्तिगत विवरण सही हुनुपर्ने र दुर्घटना भएपश्चात सेवाग्राही तथा राइडर दुवैले १०० वा १०३ मा फोन गरेर प्रहरीलाई तत्काल खबर गर्नुपर्ने र सोही दिन पठाओमा खबर गरि र दुर्घटना भएकै दिन स्वास्थ्य संस्थामा जाँच गरेको अवस्थामा बीमा माग दावी गर्न सकिने बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij