Jun 16 2026 | २०८३, असार २ गते
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १० वटा भातृ संस्थाका अध्यक्ष तथा कार्यसमितिको पद खुस्काइदिएको छ । कांग्रेस कार्यसम्पादन समितिले लामो समयसम्म अधिवेशन गर्न नसकेका भातृ संस्थाहरु नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक संघको कार्यसमिति भंग गरेको हो । अधिवेशन गराउने गरी नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका राजीव ढुंगाना अधिवेशन नै नगराई पार्टीको केन्द्रीय सदस्य बन्न सफल भए । महाधिवेशनबाट ५ जना मात्रै पदाधिकारी चयन भएको तरुण दलका अध्यक्ष जीतजंग बस्नेत कार्यसमिति नै पूरा गर्न नसकेपनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भए। २०६३ सालदेखि नै अध्यक्ष रहेका तामाङ संघका अध्यक्ष कवेलबहादुर लामा पनि पद विहिन बनेका छन्। अवधि समाप्त भइसकेका भ्रातृ संघका केन्द्रीय समितिहरु नेपाली कांग्रेसको बिधानको धारा ४२(१) ‘च’ अनुरुप स्वतः विघटन भएको छ। यसरी विघटन भएका भातृ संस्थाहरुको केन्द्रीय तदर्थ समिति गठनका लागि पार्टी केन्द्रीय सभापतिले आवश्यक परामर्श गरेर फागुन मसान्त भित्र सम्पन्न गर्ने काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij