Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ/ संघीय संसदको प्रतिनिधिसभा बैठकमा आइतबार टेबल भएको अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सहमति खोज्न शीर्ष नेताहरुको दौडधुप जारी रहेको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरू एमसीसी कम्प्याक्ट संसद्बाट अनुमोदन गर्ने विषयमा बृहत् परामर्शमा जुटेका हुन् ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्दै एमसीसी अनुमोदन गराउन सहमति जुटाउने प्रयास थालेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटवार्तामा देउवाले एमसीसी अनुमोदन गरेर अनुदान सहायता लिनुपर्ने बताएका छन् । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री देउवा र प्रचण्डबीचको भेटमा संसद्मा पेस भएको एमसीसी अनुमोदन गर्ने सन्दर्भमा कुराकानी भएको छ ।
काँग्रेस प्रबक्ता महतले भने, “एमसीसी संसद्मा पेस भइसकेको सन्दर्भमा प्रधानमन्त्रीले त्यसलाई अनुमोदन गर्न शीर्ष तहमा संवाद थालनी गर्नुभएको छ । फागुन १६ भित्र एमसीसी अनुमोदन गर्नुपर्ने भएकाले सहमति जुटाउन सबैसँग छलफल हुनेछ ।” नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सहमति जुटाउन सत्ता साझेदार दलका नेताहरूसँग संवाद जारी राखेका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका पौडेलले सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका हुन् ।
पौडेलले नेताहरूसँगको भेटमा एमसीसी पारितसँगै सत्ता साझेदार दलबीच बलियो एकता कायम गर्ने सन्दर्भमा कुरा भएको बताए । उनले भने, “एमसीसीको सन्दर्भमा कुरा भयो । एमसीसी फिर्ता भए भविष्यमा नेपालको विकास प्रक्रिया कस्तो हुन्छ, विदेशी सहायता कसरी जुट्छ भन्ने विषयमा कुरा गर्यौँ ।” पौडेलले सैद्धान्तिक रूपमा सत्तारूढ दलका नेताहरूबीच कुनै मतभेद नरहेको बताए। जसपा अध्यक्ष यादवसँगको भेटपछि पौडेलले भने, “तर केही प्राविधिक कुरा छन् । त्यसको टुङ्गो फागुन १३ गते केन्द्रीय बैठकबाट निर्णय गर्ने कुरा आएको छ । ” वरिष्ठ नेता पौडेलले एमसीसी संसद्मा पेस भइसकेकाले अब त्यहीँ बहस हुने जनाए।
नेता पौडेलले सडकमा फैलिएको हल्ला अनावश्यक रहेको टिप्पणी गर्दै अब राष्ट्रको ध्यान संसद्मा केन्द्रित हुने प्रस्ट पारे । उनका अनुसार सोमबारको भेट एमसीसी अनुमोदनकै सन्दर्भमा केन्द्रित थियो । उनले एमसीसीको भविष्य के हुन्छ भन्ने विषयमा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग छलफल जारी राख्ने बताए । उनले नेपाली राजनीतिमा आफूहरूको पुस्ता असफल पुस्तामा परिणत हुने परिस्थिति आएको बताउँदै देश पनि असफल हुने अवस्था आउने हो कि भनेर सत्तारूढ र प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरेको उल्लेख गरे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी संसद्मा पेस भइसकेको बताउँदै त्यहाँको छलफलबाटै त्यो विषय निष्कर्षमा पुग्ने प्रस्ट पारे । वरिष्ठ नेता पौडेलसँगको भेटपछि प्रचण्डले भने, “उहाँले गठबन्धन बचाउनु पर्यो, एमसीसीको समस्या पनि समाधान हुनुपर्यो भन्ने लाइनबाट चासो राख्नु भएको थियो ।”
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij