Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिले नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भन्दै शुभकामना सन्देश जारी गरेकी छन् । उनले भनेकी छन्, ‘नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ, शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भूभाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो, हाम्रो मुलुकका धेरै समुदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको पाइन्छ ।’
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले यस पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जानेमा विश्वास व्यक्त गरेका छन् । ‘आजै नेपाली सेना दिवस पनि हो । नेपाली सेना दिवस-२०७८ को अवसरमा नेपाली सेनाका प्रधान सेनापतिसहित सकल दर्जामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रीले नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको बताएका छन् । नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उनले हरेक जातजातिका आआफ्ना रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्दै अपनत्व महसुस गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij