Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

एमसीसी पारित भएपछि माओवादीमा हल्लीखल्ली

एमसीसी पारित भएपछि माओवादीमा हल्लीखल्ली

  • काठमाडौं/ संसदबाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै पारित गरिएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा विवादले हल्लीखल्ली मच्चाएको छ । फागुन ८ गते आइतबार संघीय संसदको प्रतिनिधिसभामा टेवल भएको एमसीसी फागुन १५ गतेको संसद बैठकबाट पारित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको विवाद मिडियामा छताछुल्ल भएको हो ।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष दाहालले सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता श्रेष्ठतर्फ लक्षित गर्दै वामदेव गौतम जसरी पार्टी छाडेर गए पनि आफूले रोक्न नसक्ने टिप्पणी गरेका छन् । एमसीसी संसद्बाट पारित भएपछि त्यसलाई लिएर धेरै भावुक नहुन उनले आग्रहसमेत गरेका छन् ।
    अध्यक्ष दाहालले भारतसँग भएको महाकाली सन्धिलाई स्मरण गर्दै त्यसबेला एमालेका नेता वामदेव गौतमले जस्तो बाटो रोजेमा रोक्न नसक्ने उल्लेख गरेका हुन् । उनले घुमाउरो भाषामा असन्तुष्टि पार्टी बाहिरै पोखेको भन्दै पार्टी छाडेर गए पनि नरोक्ने बताएका हुन् ।

    AGNI GROUP

    संसद्बाट एमसीसी पारित भएपछि नेता श्रेष्ठले आमदेशभक्त नेपाली जनताले आइतबारको दिनलाई ‘कालो दिन’का रूपमा लिने टिप्पणी गरेका थिए । एमसीसीलाई उनले राष्ट्रघाती सम्झौताको संज्ञासमेत दिएका छन् ।

    ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे’ श्रेष्ठले भनेका छन्, ‘आमदेशभक्त नेपाली जनताले यसलाई कालो दिनका रूपमा लिनेछन् ।’

    माओवादी केन्द्रका नेता श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, रेखा शर्मालगायतका नेताहरूले आइतबारको बैठकमा एमसीसी पारित गर्नुहुँदैन भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

    दाहालको निर्णयमा असन्तुष्टि पोखेका श्रेष्ठले राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि जुट्न पनि भनेका थिए । तर, सोमबारको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादीका सबै सांसद एक भएर एमसीसी पास गरेको बताएका छन् ।

    एमसीसी पास भएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेको भन्दै दाहालले श्रेष्ठको सो कदमप्रति रोष प्रकट गरेका छन् । उनले सन्तुष्टि आफ्नो विचार पार्टी केन्द्रीय समितिमा व्यवस्थित रूपमा राख्न भनेका छन् । आफूले असन्तुष्टि बाहिर नलैजान भने पनि श्रेष्ठले नमानेको पनि दाहालले बताएका छन् ।

    ‘नारायणकाजीलाई यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैंतिर आउँछ, केन्द्रित हुन्छन् भन्ने परेको होला,’ दाहालले भने, ‘जनता ह्वार्र मैतिर आउँछन् भन्ने ठानेर उहाँले सार्वजनिक रूपमै बोलिदिनुभएछ ।’

    दाहालले एमसीसीको विरोध गरेकै भरमा नेपाल मजदुर किसान पार्टी देशकै ठूलो भइसक्थे भन्दै नारायणकाजीतिर कटाक्ष गरे । ‘प्रेम सुवालले एमसीसीविरुद्ध मुर्दावाद भनेका थिए । उनकै पछि सारा नेपाल लाग्नुपर्ने नि तर त्यस्तो हुँदैन । एमसीसीको विरोध गरेकै भरमा ठूलो पार्टी हुने भए, भोट आउने भए नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालसँगै सबै लाग्ने थिए । तर, त्यस्तो हुँदैन राजनीतिमा,’ उनले भने ।

    दाहालले एमसीसीको विपक्षमा अभिव्यक्ति दिँदै आएका प्रमुख सचेतक एवं नेता देव गुरुङ पार्टीको निर्णय कार्यान्वयनमै सक्रियतापूर्वक लागेको बताए । उनले संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको वर्तमान सत्तारुढ गठबन्धन कायम रहने, सरकार बच्ने र यसैले निर्वाचन गराउने पनि उल्लेख गरेका छन् । समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij