Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । नेपाली कांग्रेसले आगामी बैशाखमा ३० मा घोषणा गरिएको स्थानीय तहको चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय आज गर्ने भएको छ। कांग्रेसले आज दिउँसो ३ बजे बस्ने केन्द्रीय समितिको बैठकले गठबन्धनबारे निर्णय गर्न लागेको कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस स्थानीय तहको चुनावमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आजको केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने तयारी गरेको छ । आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच आवश्यकताको आधारमा तालमेल गर्ने नीति कांग्रेसले लिएको छ। यद्यपि गठबन्धन गर्न नहुने तर्कसहितको मत पनि केन्द्रीय समितिमा आएको छ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने वर्तमान सत्तागठबन्धनका दलहरुसँग तालमेल गरेर चुनावमा जानुपर्नेमा दृढ देखिएका छन्। त्यसैले केन्द्रीय समितिको बैठकले चुनावमा गठबन्धन गर्ने भनेर आधिकारिक निर्णय लिने अनुमान छ।
बैठकले आगामी चुनावमा उम्मेदवारहरुलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ। संसदीय समिति २५ सदस्यीय हुने विधानको व्यवस्था छ। संसदीय समितिलाई प्रदेश र प्रतिनिधिसभा सदस्यको टिकट वितरणको अधिकार हुन्छ। महानगरका प्रमुख र उपप्रमुखलाई भने केन्द्रीय समितिले टिकट वितरण गर्छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij