Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । नेकपा (एमाले)का नेता विष्णु रिजालले सत्ता गठबन्धनलाई अवसरवाद र त्रासको गठबन्धन भनेका छन्। सत्तासीन कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धनको निर्णय गरेसँगै एमाले प्रचारविभाग उपप्रमुखसमेत रहेका रिजालले भ्यागुताको धार्नी बनाउन कथित गठबन्धन भनेका हुन्।
सत्ता गठबन्धनका नेकपा माओवादी र एकीकृत समाजवादी यो समीकरणलाई संसदीय चुनावसम्मै लग्नुपर्ने मतमा छन्।
रिजालले बुधबार बिहान फेसबुकमा लेखेका छन्, ‘एमाले र केपी ओलीको विरोध गर्नुबाहेक आठ महिनासम्म सत्तापक्षले जनतासमक्ष भन्नका लागि एउटा पनि काम गर्न सकेको छैन। ओली सरकारका पालामा निर्माण भएका योजनाहरुको टुटी खोल्न हेलिकोप्टर चढेर रमाइरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्टै भनेका छन्, ‘एमाले बलियो छ, एक्लै लड्न सकिन्न।’
उनले अगाडि लेखेका छन्, ‘त्यही भएर भ्यागुताको धानी (धार्नी) बनाउन उनीहरुले कथित गठबन्धन भनिरहेका छन्। सिद्धान्त, विचार, झण्डा, कार्यनीति, रणनीति, कार्यदिशा, शब्द प्रयोग जस्ता कुनै पनि कुरा नमिल्नेहरुबीचको गठबन्धन अवसरवाद र त्रासको गठबन्धनको हुन्छ। हामीले बुझ्छौँ र प्रस्ट छौँ, सत्तारुढ गठबन्धन हामीसँग जति आतंकित भइरहेको छ, हाम्रो लोकप्रियता र शक्ति त्यति बढिरहेको छ।’
घेराबन्दी र षड्यन्त्रलाई परास्त गर्दै अत्यधिक बहुमतसहित पहिलो शक्ति हुनबाट एमालेलाई कसैले रोक्न नसक्ने उनले जिकिर गरेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij