Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल हुने विषयमा आशंका व्यक्त गरेका छन् । आफ्नै निवास खुमलटारमा शुक्रबार बिहान बसेको पूर्वस्थायी समिति र प्रदेश इञ्चार्जहरुको विस्तारित बैठकमा उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।
बैठकमा प्रचण्डले सत्ता गठबन्धनका दलहरुबीच तालमेल नभए एमालेसँग तालमेल नगर्ने बरु एक्लै चुनाव लड्नुपर्ने बताएका छन् । आफ्नो नेताहरुसँगको छलफलमा प्रचण्डले यस्तो बताएसँगै सत्ता गठबन्धनमा चुनावी तालमेलको विषयमा प्रश्न उब्जिएको छ ।
बैठकले उम्मेदवारहरु छिटो चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको छ। ‘जति सक्दो छिटो उम्मेदवार चयन गर्नका लागि वातावरण सिर्जना गर्ने भन्ने भएको छ,’ एक नेताले भने। उनका अनुसार शीर्ष नेतृत्वले गठबन्धनमा रहेका दलहरुका बीचमा छलफल गर्ने र अन्य नेताहरु जिम्मेवारी अनुसार सम्बन्धित पालिकामा उम्मेदवार चयन गर्ने गरी प्रस्तुत हुने निर्णय भएको छ।
पाँच दलीय सत्तागठबन्धनले महानगरपालिका, उपमहानगरपालिकामा केन्द्रबाटै उम्मेदवार टुंगो लगाउने तय भएको छ। तर, कुन–कुन पालिकाको नेतृत्व कुन–कुन पार्टीले लिने भनेर भागबण्डा मिलिसकेको छैन।
बैठकमा पार्टी अध्यक्ष प्रचण्डले एकताबद्ध भई परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij