
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले आफूसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्न माग गरेको छ ।
राउतसहित पार्टीका नेताहरूले शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर आफूहरूसँग सरकारले गरेका सम्झौता स्थानीय तह निर्वाचनअघि कार्यान्वयन गर्न माग गरेका हुन् ।
विभिन्न आरोपमा थुनामा रहेका पार्टीका नेता कार्यकतालाई रिहा गर्नुपर्ने, अभिव्यक्ति, स्वतन्त्रता र नागरिक हकको सम्मान हुनुपर्ने कृषिसम्बन्धी आफूहरूका माग पूरा गर्नुपर्ने जनमत पार्टीको माग छ ।
जवाफमा गृहमन्त्री खाँणले मुलधारको राजनीतिमा आएर निर्वाचनमा जाने तयारी गर्नु स्वागतयोग्य भएको बताएका छन् । साथै जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताएका छन् ।
शुक्रबार गृह मन्त्रालयमा नेपाल सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भएको भेटवार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीको नेतृत्व अध्यक्ष राउतले गरेका थिए। वार्तामा सरकारका तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी रहेका थिए ।
त्यस्तै जनमत पार्टीका तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्षत्रय वसन्त कुशवाह, दिपक साह र नरेन्द्र साह तथा महासचिव चन्दनसिंह सहभागी रहेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij