Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२३ मा नेकपा (एमाले)का २ पक्षबीच झडप हुँदा वडाध्यक्ष असलम देवानसहित ६ जना घाइते भएका छन् ।
वडाध्यक्ष देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप हुँदा वडाध्यक्ष देवानसहित ६ जना घाइते भएको हो । झडपमा परी वडाध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका छन्। उनीहरूको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ।
मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन्। उनीहरूको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ। बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बाटोको विषयमा विवाद हुँदा उनीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।
वडा अध्यक्ष देवानको घाँटी, छाती र ढाडमा चोट लागेको छ। एमालेबाट टिक नपाएर माओवादीबाट चुनाव लडेका देवान निर्वाचित भएपछि पुनःएमालेमा फर्किएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij